भोलिदेखि ई-पासपोर्टको आवेदन दिन पाइने, पासपोर्ट निकाल्न अबदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य


काठमाडौँ । भोलिदेखि ई-पासपोर्टका लागि आवेदन दिन पाइने भएको छ । तर, यसका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको छ । राहदानी विभागका प्रवक्ता शरदराज अरनले राष्ट्रिय परिचयपत्रबिना कसैले पनि विद्युतीय राहदानीका लागि आवेदन दिन नपाउने बताए ।
मंसिर १ मै विद्युतीय राहदानी वितरण सुरु गरेको भए पनि सोमबारसम्म ‘मेसिन रिडेबल पासपोर्ट’ (एमआरपी) जारी गर्दै आएको छ । अब भने विद्युतीय राहदानीका लागि मात्र आवेदन लिन पाइनेछ । यसअघि आवेदन दिएका व्यक्तिहरूले मात्र एमआरपी पाउने छन् ।
राष्ट्रिय परिचयपत्र ७७ जिल्ला प्रशासन कार्यालयबाट जारी भैरहेको छ । सरकारले सुरुआतमा केही जिल्लालाई मात्र केन्द्र बनाएर राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । पछि सबै जिल्लाबाट उक्त परिचयपत्र दिन थालेको हो ।
राष्ट्रिय परिचयपत्र लिन नागरिकता अनिवार्य चाहिन्छ । परिचयपत्रका लागि आवेदन दिँदा नागरिकताको प्रमाणपत्र नम्बर, नागरिकता जारी मिति, जारी जिल्ला तथा नागरिकताको किसिमबारे उल्लेख गर्नुपर्ने हुन्छ । पहिले नै राहदानी लिएको व्यक्तिले उक्त राहदानीको सक्कल वा प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ ।