ऐतिहासिक शान्ति सम्झौताको १५ वर्ष पूरा- अझै टुंगिएन संक्रमणकालीन न्याय – Nepal Press

ऐतिहासिक शान्ति सम्झौताको १५ वर्ष पूरा- अझै टुंगिएन संक्रमणकालीन न्याय

काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि माअ‍ेवादीले दशक लामो सशस्त्र युद्धलाई अन्त्य गरेको थियो।

१० वटा विविध भागमा समेटिएको सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता पछि नै देश संविधानसभाको निर्वाचनको बाटोमा गएको थियो भने माओवादी लडाकुहरुलाई देशका विभिन्न सातवटा शिविरमा राखेर राष्ट्रसंघले सुपरीभेक्षण गरेको थियो।

सम्झौतामा आफ्नो कब्जामा रहेका मानिसहरुको बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र मुक्त गर्ने, बेपत्ता पारिएका वा मारिएका मानिसहरुको बारेमा ६० दिनभित्र सूचना सार्वजनिक गर्ने लगायतका विषयहरु उल्लेखित थिए।

शान्ति सम्झौतामा उल्लेख भए अनुसारका संविधानसभाको निर्वाचन भएर नयाँ संविधान बनिसकेको छ भने लडाकूहरुको समायोजनसमेत भएको छ। तर, त्यसको एउटा महत्वपूर्ण पाटो बेपत्ता पारिएका व्यक्तिको सार्वजनिकीकरण र संक्रमणकालीन न्यायको विषय अझैं टुंगिएको छैन।

सरकारले द्वन्द्वको घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय पीडकलाई दण्ड दिने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेको भए पनि दुवै आयोगको काम प्रभावकारी हुन सकेको छैन् ।

ती आयोगले उजुरी लिने बाहेका अन्य काम गर्न सकेका छैनन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्रमश ६० हजार र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा १ सय ९७ उजुरी परेका थिए।

तिनको निष्पक्ष छानविन गरी न्याय दिने काम अझै हुन सकेको छैन । विशेष गरी राजनीतिक दलहरु नै यसप्रति गम्भीर नहुँदा आयोगमा कहिले ऐनको अभाव हुने गरेको छ भने कहिले जनशक्तिको ।

न्यायमा विलम्ब भएपछि अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले पनि बोल्न थालेका छन्। शान्ति सम्झौता भएको १५ वर्ष पुगेको पूर्वसन्ध्यामा एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट, हुमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति जारी गर्दै द्वन्द्वपीडितलाई न्याय दिन राज्य असफल भएको निष्कर्ष निकालेका छन्।

‘गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिने संक्रमणकालीन न्यायको कानूनलाई संशोधन गर्न सन् २०१५ मा सर्वोच्च अदालतले दिएको आदेश अन्तर्गत रहेर पीडितलाई सत्य, न्याय तथा मेलमिलाप प्रदान गर्ने प्रतिबद्धता भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, ती प्रतिबद्धता पूरा गर्न उनीहरु लगातार असफल रहे । उल्टै संक्रमणकालीन न्यायिक आयोग निष्क्रिय बनाइयो ।’

देशभित्र भइरहेका राजनीतिक उथलपुथलले यो विषय राजनीतिक दलहरुको प्राथमिकतामा पर्न सकिरहेको छैन । तर, यो विषयलाई लामो समय नटुंग्याउने हो भने अन्तर्राष्ट्रिय कानून आकर्षित हुँदा अप्ठेरो पर्नसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर