रविन्द्र मिश्रले विवेकशीललाई ‘मृत्युशय्या’ मा पुर्‍याएको भन्दै १२ नेताले छाडे पार्टी – Nepal Press

रविन्द्र मिश्रले विवेकशीललाई ‘मृत्युशय्या’ मा पुर्‍याएको भन्दै १२ नेताले छाडे पार्टी

पोखरा । गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्तरूपमा विज्ञप्ति जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटीरूपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गानाले पार्टी छोडेको घोषणा गरेका हुन् ।

‘दुई वैकल्पिक पार्टी एकतापश्चात नेतृत्वले पार्टीलाई सही दिशामा दिन सकेन । पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरू नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुदैनौं,’ उनीहरूले भनेका छन्, ‘वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशय्यामा पुर्‍याएको हाम्रो ठहर छ ।’

पार्टीका अध्यक्ष मिश्रले एकताको मर्मविपरीत एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधान विपरित कार्य गरेकोमा उनीहरूले आपत्ति जनाएका छन् । ‘एकता महाधिवेशन छाडेर पार्टीको लाइनविपरीतका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत ब्याख्या गरेको हाम्रो बुझाइ हो,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष मिश्रको यो कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको छ ।’ उक्त पार्टीमा रहिरहे समय बर्बाद हुने उनीहरूको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर