स्पेनी सभामुखसहितको प्रतिनिधिमण्डलद्वारा पाटन दरबार क्षेत्र भ्रमण (तस्बिरहरु) – Nepal Press
स्पेनी सभामुखसहितको प्रतिनिधिमण्डलद्वारा पाटन दरबार क्षेत्र भ्रमण (तस्बिरहरु)
उमेश कार्की २०७८ कार्तिक ११ गते १५:२२
२०७८ कार्तिक ११ गते १५:२२

काठमाडौं । नेपाल भ्रमणमा आइपुगेको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको टोलीले आज विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्यावरको अध्ययन अवलोकन गरेको छ । उनीहरुले सो अवसरमा भूकम्पपछि पुननिर्माण भैरहेको पाटनका पुरातात्विक सम्पदाहरुको बारेमा जानकारी समेत लिएका थिए ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्पेनी टोलीलाई सम्पदाबारे जानकारी गराएका थिए । टोलीले उपत्यकाका अन्य पुरातात्विक स्थलहरुको समेत भ्रमण गर्ने भएको छ ।

बागमती सभामुख श्रेष्ठको निम्तोमा स्पेनका सभामुख डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको हो । टोलीमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन् ।

 
 
 
 
 
 
 
 

छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुको साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोली नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछ । यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।