मंसिर २१ देखि पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने – Nepal Press

मंसिर २१ देखि पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर तेस्राे सातादेखि  काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने  जानकारी दिएकाे हाे ।

सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु समेत गर्ने कार्यक्रम रहेको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए । अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।

पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले सम्मेलनमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको जानकारी दिए । अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरी छुट्टै वेबसाइट बनाइएको छ जुन आज सार्वजनिक गरिएको छ ।

प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन सचिवालयका सदस्य मनोहर घिमिरेले नयाँ बेवसाइटमा सम्मेलनसम्बन्धी भएका महत्वपूर्ण गतिविधि र जानकारीहरु समावेश गरिएको बताए । प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकहरुलाई अनलाइनमार्फत् रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापना भएको करिब ६ वर्षमा सफलतापूर्वक सम्पन्न गरेको छ भने केही बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको छ ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइहरुले विपद्बाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको छ ।

२०७२ पुस १० गते स्थापना भएको प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका महत्वपूर्ण कामहरु सम्पन्न गरी वर्तमान सरकारको निर्णयअनुसार बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको छ।

भूकम्प गएको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।

सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिवद्धता प्राप्त भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो । त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको प्राधिकरणले बताएको छ । , जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७।५ प्रतिशत हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर