विप्लवका माग पूरा गर्न गृहमन्त्रीले थाले काम – Nepal Press

विप्लवका माग पूरा गर्न गृहमन्त्रीले थाले काम

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।

उनले आज सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका हुन् ।

बैठकमा अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । मन्त्री खाणले सहमति कार्यान्वयका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी दिएका थिए ।

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । आजको छलफलमा मुख्यगरी सहमतिको बुदाँ नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,’ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

छलफलमा कानुन सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदीबन्दीलाई रिहाई गर्न मिल्नेबारे जानकारी दिएका थिए ।

कानुनसचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाईका लागि सिफारिस मन्त्रालयमा आएका अधिकांशको रिहाई भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराएका थिए ।

फेरि सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुंग्याउने सहमति बनेको छ ।

०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालिन गृहमन्त्री रामबहादु थापा र सदस्य तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दिपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर