रामचन्द्रको आरोप- सभापति देउवालाई कांग्रेसमाथि नै विश्वास छैन – Nepal Press

रामचन्द्रको आरोप- सभापति देउवालाई कांग्रेसमाथि नै विश्वास छैन

सभापतिमा जो उठेपनि एकजना उठ्छौं, हाम्रो टिम एक छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सामूहिक भावनासहित आफ्नो समूहबाट एकजना मात्रै सभापतिको प्रत्याशी बन्ने बताएका छन् ।

गृहजिल्ला तनहुँको आबुखैरहनीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीभित्र नेतृत्वका लागि आकांक्षी धेरै भएपनि आफ्नो समूहबाट एकजना उम्मेदवार बन्ने बताए ।

‘हामी पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौं । हामीले अहिलेसम्म मै हुँ सभापति भनिसकेका छैनौं । सामूहिकरूपमा सल्लाह गरेर एकजना सभापतिको उम्मेदवार हुन्छौं भनेका छौं । हाम्रो यही सामूहिक भावनाले उम्मेदवार पनि एक हुन्छौ, कांग्रेस पनि एक बनाउँछौ’, पौडेलले भने ।

पार्टीभित्र अल्पमतमा रहेकाले जबर्जस्ती बहुमत पुर्‍याउन खोज्दा क्रियाशील सदस्यताको विवाद बढेको उनले बताए ।

‘सभापतिजीलाई कांग्रेसमाथि नै विश्वास छैन । त्यसैले गैरकांग्रेसलाई सदस्यता दिएर भए पनि बहुमत पुर्‍याउँछु भनेर लाग्नुभएको छ । पार्टी भन्दा नेता बलियो हुन खोजेकोले आज कांग्रेसमा समस्या बढेको छ’, उनले भने ।

पौडेलले कांग्रेसमा पुस्तान्तरणको नभएर रुपान्तरण खाँचो रहेको समेत औल्याए । ‘प्रकृतिको नियम हो पुरानो पात झर्छ, नयाँ पात पलाउँछ । झरेको पातले पनि मल बनेर रुखलाई नयाँ पालुवा दिन्छ । भएको पातलाई झटारो हाल्ने कुरा अप्राकृतिक हो । त्यस्तै कांग्रेसमा पुस्तान्तरण होइन, रुपान्तरणको खाँचो छ’, पौडेलले भने ।

फरक प्रसंगमा नेता पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिएर संसद विघटनको औचित्य पुष्टी गर्न खोजेको आरोप लगाए ।

‘हिजो बहुमत गुमाएपछि २ पटक संसद भंग गरेको कुरा सही थियो भन्ने देखाउन आज एमालेले संसद चल्न दिएको छैन । मुद्दा लिएर अदालत गएपछि संसदमा किन अवरोध ?’, पौडेलले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर