जेठ २ मा फर्किएपछि अर्घाखाँची एमालेले थाल्यो प्रचार अभियान, एमालेमा फर्कनेहरु बढ्दै – Nepal Press

जेठ २ मा फर्किएपछि अर्घाखाँची एमालेले थाल्यो प्रचार अभियान, एमालेमा फर्कनेहरु बढ्दै

एमाले कम्युनिस्ट आन्दोलनको मूल प्रबाहः टोपबहादुर रायमाझी

रुपन्देही । लुम्बिनी प्रदेश कमिटीले ०७५ जेठ २ को अवस्थामा पार्टीको जिल्ला नेतृत्वलाई फर्काएपछि नेकपा एमाले अर्घाखाँचीले नयाँ जिम्मेवारीका साथ आफ्ना कार्यक्रम अगाडि सारेको छ ।

जिल्ला कमिटीको बैठक सरेर अन्य पालिकास्तरमा जिम्मेवारी विभाजन गरेर अर्घाखाँची एमालेले भदौ २९ गते सदरमुकाम सन्धिखर्कमा बृहद् कार्यकर्ता भेला गर्ने तयारी गरेको नेता शोभाखर पन्थीले बताए ।

‘एमालेबाट केही अवसर खोजेका साथीहरु बाहिरिनुभएको छ, जिल्लामा पनि केहीलाई भ्रममा पारिएकाले आमकार्यकर्तालाई सचेत गराउन भेला आयोजना गरिएको हो’, उनले भने ।

एमाले जिल्ला कार्यालयको सन्धिखर्कमा सम्पन्न विस्तारित बैठकले भेला तयारीको निम्ति विभिन्न निर्णयहरु समेत गरेको छ । भेलामा एमाले जिल्ला कमिटीका सदस्य, जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य, पालिका कमिटीका सदस्य, जनवर्गीय संगठनका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी समेत करिब १ हजार कार्यकर्ताको सहभागिता रहने जनाएको छ ।

पार्टी विभाजनकारी स्वार्थी समूहबाट सचेत रहन कार्यकर्तालाई आग्रह गर्दै वैचारिक रुपमा प्रतिकार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिइएको अध्यक्ष चेतनारायण आचार्यले बताए ।

साथै बैठकले बाटो बिराएरकाहरुलाई मूल पार्टीमा फर्कन आह्वान गर्दै पार्टीमा फर्कनेलाई निसंकोच पुरानै जिम्मेवारी दिने निर्णय गरेको आचार्यले बताए ।

बैठकले यहीं भदौ ३१ गते जिल्लाका सबै पालिकामा एकसाथ बैठक गर्ने, असोज ५ गते भित्र वडा कमिटीका बैठक सम्पन्न गर्ने, असोज ५ गतेसम्म जिल्ला जनसंगठनका बैठक सम्पन्न गर्ने, असोज १० गतेसम्म जनवर्गीय संगठनको पालिकास्तरका बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले पार्टीविरोधि गतिविधिमा लागेको भन्दै पाणिनिका बाबुराम घिमिरे (भुवन) र लक्ष्मी गौतमलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशित गगरेको छ । बैठकले पाणिनि गाउँपालिका कमिटीको अध्यक्षमा कमल घिमिरे र इन्चार्जमा रुद्र पोख्रेललाई चयन गरेको छ ।

बैठकले कार्यकर्ता भेलाको मञ्च व्यवस्थापन तथा झण्डा,व्यानर लगायतको कामको निम्ति जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी र उपसचिव प्रेमनारायण गैरेलाई जिम्मेवारी दिएको छ ।

बैठकमा यसअघि माधव कुमार नेपाल समूहमा सक्रिय रहँदै आएका जिल्ला उपसचिव प्रेमनारायण गैरे, जिल्ला सचिवालय सदस्य भविश्वर पाण्डे, सरोज भुसाल लगायतको सहभागिता रहेकाले विभाजनको असर कम परेको दावी एमालेको छ ।

बैठकमा नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले प्रचण्ड र माधव समूहको कुनै भविष्य नभएको भन्दै गठबन्धनको हौवा पिटेर सीमित कार्यकर्ता जोगाउनेबाहेक अर्को कुनै उपाय नभएको बताए ।

एमाले प्रदेश कमिटीले सो पार्टीको जिल्ला नेतृत्वका लागि अध्यक्ष चेतनारायण आचार्य, उपाध्यक्ष जीवनारायण कोइराला, सचिव तोजबहादुर रायमाझी र सहसचिव प्रेमनारायण गैरेलाई जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर