लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।

एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल १९ वैशाख २०७८ मा बिहानै राजीनामा दिएर सोहि दिन अवेर राति पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । यो पटक उनी धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका थिए ।

४१ जना एमालेका सांसदहरुको हस्ताक्षरमा प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई पुनः नियुक्त गरेपनि त्यहाँ रहेका ३ जना एमाले सांसदहरुले उनको छाथ छाडेपछि उनी अल्पमतमा परेका हुन् ।

दाङका अमर डाँगी र कपिलवस्तुका दीर्घनारायण पाण्डेले एमालेसँगै सांसद पदबाट राजीनामा दिए भने नेकपाको उपनिर्वाचनबाट आएकी एमाले सांसद विमला वलीले साथ छाडेर माओवादीतिर लागिन् ।

परिस्थितिमा नाटकीय फेरबदल नभए माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री चयन हुन सक्नेछन् ।

विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन् । यसअघि उनी नेकपाको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर