माधव पक्षीय बैठक- निशानामा कार्यदल, भीम रावलसँग किन भयो बाझाबाझ ? – Nepal Press

माधव पक्षीय बैठक- निशानामा कार्यदल, भीम रावलसँग किन भयो बाझाबाझ ?

काठमाडौं । एमाले एकता वा विभाजनको निर्णय लिने अपेक्षा गरिएको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरु माधव पक्षीय वार्ता टोलीका नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

माधव नेपालको तर्फबाट वार्ता गर्न गएका नेताहरु केपी ओलीका जस्ता देखिएको र आफ्नो समूहमाथि घात गरेको भन्दै उनीहरु आक्रामक बनेपछि वार्ता टोली संयोजक भीम रावल प्रतिवादमा उत्रिएका थिए ।

जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले वार्ता टोलीको भूमिकामाथि प्रश्न उठाएपछि रावल जुरुक्क उठेका थिए । उनले आफूहरुले पार्टी एकताका लागि मेहनत गरेको भन्दै बाहिर मिडियामा मनपरी बोलेर वातावरण बिगार्न खोजेको आरोप समेत लगाए ।

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक केहीबेर तनावग्रस्त बनेको थियो । कार्यदलका तर्फबाट भीम रावलले जवाफ दिएका थिए । केहीबेर केन्द्रीय सदस्य र रावलबीच भनाभन परेको थियो । रावलले केपी ओलीको आलोचना गर्दा फ्लोरबाट झाँक्री लगायतले ‘यहाँ भनेको कुरा ओलीको सामुन्ने बोल्न सक्नुहुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।

बैठकमा जगन्नाथ खतिवडाले भने- कार्यदलमा रहेका नेताहरूले अध्यक्ष ओलीकहाँ पुगेर ओलीलाई खुसी पार्ने कुरा गरिरहनुभएको छ । त्यो काम बन्द हुनुपर्‍यो । हाम्रै समूह एकताबद्ध छैनौँ भने पार्टी एकता कसरी हुन सक्छ ? यस्ता व्यवहार बन्द हुनुपर्छ ? माधव नेपालको तर्फबाट वार्तामा जानेहरुले ओलीको बोली बोल्ने होइन ।

बैठकमा नेता नेपालले सुरुवाती सम्बोधन गरेपछि कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।

रावलले कार्यदलले गरेका उपलब्धी सुनाउँदै गर्दा ‘फ्लोर’बाट उनीमाथि नै प्रश्न उठेको थियो । आफ्नो आलोचना भएपछि रावल पनि आफ्नो स्वभाव अनुसार त्यसको प्रतिवादमा उत्रिदा बैठकमा भनाभन समेत परेको थियो।

बैठकमा सहभागि एक केन्द्रीय सदस्यले बिजय गुरुङ, बिजय पौडेल, रामकुमारी झाँक्री, राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा र चुँडामणी जंगलीले माधव नेपालको प्रतिनिधि बनेर माधव नेपाललाई नै असहयोग गरेको भन्दै रावलमाथि आक्रोस पोखेका थिए ।

आफ्नो विस्तृत भनाइ नराखेको भए पनि केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बीचमै हात उठाएर कार्यदलबारे प्रश्न उठाएका थिए । उनले कार्यदल र भीम रावलप्रति लक्षित गर्दै माधव नेपालको नाम लिएर कार्यदलका नाममा माधव नेपाललाई नै धोखा दिने काम भएको आरोप लगाएका थिए।

अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले पनि भीम रावलसँग भनाभन गरेका थिए । ‘माधव नेपालको मान्छे भएर कार्यदलमा जाने तर माधव नेपाललाई साथ नदिने ?,’ उनको आक्रोस थियो, ‘आफुखसी गर्ने ?’

रावलसँग रामकुमारी झाँक्रीको पनि भनाभन परेको थियो । आफ्नो आलोचना भएपछि रावलले केही शब्द ओलीको आलोचनामा पनि खर्चिएका थिए । ओली तानाशाह भएको उनको भनाइ थियो। झाँक्री यही कुरामा रावलसँग जंगिएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

‘आज तपाईंले यहाँ भित्र जे कुरा भन्नुभयो त्यो बाहिर गएर भन्न सक्नुहुन्छ ?’, रावललाई रामकुमारीको प्रश्न थियो, ‘यही कुरा ओलीको अगाडि भन्न सक्नुहुन्छ ? मिडियामा गएर बोल्न सक्नुहुन्छ ?’

झाँक्रीले रावलमाथि आक्रोस पोखिरहँदा नेता नेपाल भने खुसी नै देखिएको ती केन्दीय सदस्यले बताए । कार्यदलमा रहेका अन्य सदस्यहरुले रावलमाथि प्रश्न उठाइरहँदा उनको खासै प्रतिरक्षा गरेनन् । आफूमाथि उठ्ने प्रश्नमा रावल जंगिन खोज्दा उल्टै उनीहरुले प्रश्नहरु उठ्न दिन आग्रह गरेका थिए। झपट रावलले भने १० बुँदे ठीक भएको भन्दै त्यसकै जगमा टेकेर अगाडि बढ्नु पर्ने धारणा रोखका थिए ।

अर्का केन्द्रीय सदस्य निरज आचार्यले माधव नेपालसँग प्रचण्डको पटक-पटकको भेटवार्ताले आफूहरुलाई असहज लागेको बताएका थिए ।

बैठकको शुरुमै सम्बोधन गरेका नेता नेपालले भने केपी ओलीलाई जति भने पनि उनी नसुध्रिने भन्दै उनी राजनीतिक मान्छै नै नभएको टिप्पणी गरेका थिए।

ओलीले एमालेमा आफूहरुलाई स्पेस दिँदैनन् कि भन्नेमा नेपालले आशंका व्यक्त गरेका थिए। नेपालको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने,‘ एकातिर केपी ओलीले हामीलाई एमालेमा स्पेस नदिने, अर्कातिर हामीले लडेर जोगाएका संसदको पूर्ण अवधि कायम गर्ने चेपुवामा हामी छौं भन्ने कुरा उहाँले राख्नु भयो ।’

अर्का केन्द्रीय मेटमिण चौधरीका अनुसार नेता नेपालले ओली पार्टी एकतामा गम्भीर नभएको आरोप लगाएका थिए। ‘जब पार्टी एकताका विषयमा छलफल हुनथाल्छ अनेक कुरा गरेर स्टेप चाल्छन् या केही बोलेर भाड्छन्,’ नेपालको भनाइबारे चौधरीले भने।

तर, २४ गतेसम्म एकताको प्रयास जारी राख्ने र यदी २४ गतेसम्म एकताका लागि प्रयासहरु भएन भने कुनै न कुनै गरेर अगाडि बढ्ने धारणा नेपालले राखेको चौधरीले बताए।

आजको बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले आफ्ना सुझाव दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

केन्द्रीय सदस्यहरुले ओलीसँग मिल्न नसकिने धारणा राखेका थिए। केन्द्रीय सदस्य चुँडामणि जंगलीले ओलीसँग मिल्नै नसकिने धारणा राखेका थिए ।

‘म केपी ओलीसँग मिल्दैन,’ उनको भनाइ थियो, ‘केपी ओली राजनीतिक मान्छे नै होइन । उसँग मिल्ने हो भने म हलो जोतेर खान्छु । ओलीको टाङमुनी को-को छिर्ने हो छिरे हुन्छ ।’

बैठकमा बलराम बास्कोटको धारणा सबै कम्युनिष्टहरुबीच एकता गरे विशाल बाम पार्टी बनाउनुपर्ने थियो । ठाकुर गैरे, निरज आचार्य र अरुण नेपालले भने पार्टी भित्रै लड्नुपर्ने तर फुटको दिशातिर जान नहुने धारणा राखेका थिए ।

प्रेम आले पहिलो पटक माधव पक्षको बैठकमा

नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट केन्द्रीय सदस्य जिते पनि ४ वर्षदेखि केपी ओली पक्षमा रहेका प्रेम आले बिहीबार पहिलोपटक माधव नेपाल पक्षको बैठकमा सहभागी भएका थिए ।

आले शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला ७ सांसदसहित माधव नेपाल पक्षमा लागेका थिए । बैठकमा आलेसँगै केपी ओली छाडेका सांसदहरु किसान श्रेष्ठ र हिराचन्द्र केसीपनि पुगेका थिए । तर उनीहरु केन्द्रीय सदस्य नभएकाले बैठक शुरु भएपछि बाहिरिएका थिए ।

माधव नेपाल पक्षको बैठकमा २०७५ जेठ २ पछिका केन्द्रीय सदस्यहरु पनि सहभागी थिए ।


प्रतिक्रिया

One thought on “माधव पक्षीय बैठक- निशानामा कार्यदल, भीम रावलसँग किन भयो बाझाबाझ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर