पुनर्बहाली भएकी उपप्रमुखको गुनासोः नगरप्रमुखले स्वीकार्नै गाह्रो माने, अधिकार पाइएन – Nepal Press

पुनर्बहाली भएकी उपप्रमुखको गुनासोः नगरप्रमुखले स्वीकार्नै गाह्रो माने, अधिकार पाइएन

कैलाली । भजनी नगरपालिका उपप्रमुख छायाँदेवी देवकोटा पुनर्बहाली भएपछि पनि नगरप्रमुखले उपप्रमुखको हैसियत नदिएको गुनासो गरेकी छन् ।

१८ असारमा भजनी नगरपालिका उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका– ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बि.सि पुनर्बहाली भए ।

भजनीबाहेकका स्थानीय तहमा स्वागत कार्यक्रमको आयोजना गरेरै उनीहरुको स्वागत गरिएको थियो । तर, भजनीमा भने उपप्रमुख देवकोटाले आफ्नो अधिकारमा रहेको काम गर्न नदिएको बताइन् ।

‘बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक म हुँ’ उपप्रमुख देवकोटाले भनिन् ‘मलाई जानकारी नै नगराइ योजना तर्जुमा गरिँदैछ ।’

१८ असारमा सर्वोच्च अदालतले फैसला गरे पनि २० गते पत्र बुझेर २१ गते उनी कैलाली फर्किएकी थिइन् । २० गत् नै नगरप्रमुख शेरबहादुर चौधरीको अध्यक्षतामा बजेट तर्जुमा समितिको बैठक बसेको थियो । तर, त्यो बेला बजेट तर्जुमा हुन नसकेको उनले बताइन् ।

‘मैले योजना तर्जुमाको माइन्यूट मगाए । नगरको योजना संशोधनसहित कार्यपालिकामा लैजाने र वडाको योजना कार्यपालिकामा लैजाने भनिने निर्णय भएको रहेछ’ उनले भनिन् ,‘त्यसपछि कुन कुन योजना लैजाने भन्ने छैन । त्यो बेलासम्म वडाको योजना आएकै थिएन । त्यसपछि ४–५ वडाको योजना आयो । योजना तर्जुमाको मिटिङ राखेर कार्यपालिकाको बैठक राख्न प्रस्तुत गरेपछि बैठक स्थगित भएको हो ।’

उपप्रमुख देवकोटाले बहुमतको आधारमा नगरप्रमुखले योजना तर्जुमा नगरी बजेट ल्याउन खोजेको भन्दै उनको नेतृत्वमा सोमबार नगरपालिका कार्यालयमा ताला लगाइएको छ । तालाबन्दीपछि नगरसभा प्रभावित भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४मा बजेट तथा कार्यक्रम तर्जुमा समिति तयार गरिएको छ । जसमा उपाध्यक्ष वा उपप्रमुख संयोजक रहने संवैधानिक व्यवस्था छ । उक्त समितिले बजेट तर्जुमा गरेपछि मात्रै बजेट ल्याउन पाइने व्यवस्था रहेको छ ।

असार ९ गते नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले १० गते बजेटको खाका प्रस्तुत गरेको थियो । तर, अहिलेसम्म पनि योजनागत रुपमा दिइने बजेट बजेट तर्जुमा समितिले तयार गरिएको छैन ।

यस बिषयमा भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीलाई सम्पर्क गर्दा उनको फोन उठेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर