माथिल्लो तामाकोशी राष्ट्रिय प्रसारण लाइनमा, प्रधानमन्त्रीले गरे उद्घाटन – Nepal Press

माथिल्लो तामाकोशी राष्ट्रिय प्रसारण लाइनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन गरेका छन् । बालुवाटारमा आयोजित भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले वटम थिचेर शिलान्यास गरेका हुन् ।

स्वदेशी लगानी निर्माण भएको यो आयोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । ४५६ मेगावट क्षमता भएको यो आयोजना थालनी भएको १० वर्षपछि निर्माण सम्पन्न भएको हो । ३५ अर्ब लागतमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयावधि बढ्दा आयोजनाको लागत बढेर ८३ अर्ब पुगेको छ ।

६ वटा युनिटमध्ये १ युनिटबाट आज ७६ मेगावट जलविद्युतको परीक्षण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यस आयोजनाको शिलान्यास २०६८ साल जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले गरेका थिए । त्यो बेला ऊर्जा मन्त्री गोकर्ण विष्ट  थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस आयोजनाले विद्युतमा आत्मनिर्भर बनाउने बताए । ‘आज एउटा टर्बाइन सञ्चालनमा आयो अब छिट्टै यो आयोजनाका ६ वटै टर्बाइन सञ्चालनमा आएपछी हामी पूर्ण क्षमतामा बिद्युत उत्पादन गर्छ । हामी २०७५ सालमा नेपाललाई लोडसेडिङमुक्त गर्‍यौँ अब यो आयोजनाले हामीलाई आत्मनिर्भर बताउँछ’, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले यो आयोजना निर्माणमा भएको ढिलाइले मुलुकलाई घाटा भएको बताएका छन् । ३५ अर्ब सावाँ र १४ अर्ब ब्याज आम्दानीमा निर्माण गर्ने भनिएको आयोजनाको लागत बढेर ८३ अर्ब पुग्नु दु:खद भएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई दोष दिएर आयोजना निर्माणको काममा ढिलाइ भयो भन्ने छुट नरहेको बताएका छन् ।
कार्याक्रममा भएको ढिलाइप्रति व्यंग्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘दायाँतर्फ ऊर्जामन्त्री वायाँतर्फ ऊर्जा सचिव , प्राविधिक र ऊर्जा उत्पादकहरू भए पनि कार्यक्रममा प्राविधिक कारण देखाएर ढिलाइ भयो । सधैँ प्रविधिलाई दोष दिएर ढिलाइ गर्ने छुट छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर