१७ वर्षपछि डेनमार्क युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा, वेल्स बाहिरियो – Nepal Press

१७ वर्षपछि डेनमार्क युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा, वेल्स बाहिरियो

काठमाडौं । अन्तिम-१६ अन्तर्गत शनिबार भएको नक आउटको पहिलो खेलमा वेल्सलाई ४-० गोलको फराकिलो नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ ।

नेदरल्यान्ड्सको आम्सटरम्याममा भएको खेलमा गत संस्करणको सेमिफाइनलिस्ट वेल्समाथि हाबी बनेको डेनिस टोलीका लागि कास्पर डोलबर्गले दुई तथा जोकिम मेहेले र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे ।

वेल्समाथि हाबी बनेको डेनमार्कले प्रतियोगितामा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका डोलबर्गले २७औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्कका लागि ४८औं मिनेटमा डोलबर्गले व्यक्तिगत दोस्रो गोल गरेका थिए । आक्रामक शैलीमा प्रस्तुत भएको डेनमार्कका लागि ८८औं मिनेटमा मेहेले गोल गरे ।

निर्धारित ९० मिनेटसम्म हाबी बनेको डेनमार्कले इन्जुरी समयमा ब्रेथवेटले गरेको गोलसँगै ४-० को जित सुनिश्चित गर्‍यो ।

शानदार जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो ।

सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क समूह बीको तेस्रो स्थानमा रहँदै नकआउटमा आइपुगेको हो । सेमिफाइनल प्रवेशका लागि डेनमार्कले अब नेदरल्यान्ड्स र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर