सिद्धार्थनगरको दुई मुख्य चोकमा ट्राफिक लाइट राखिने – Nepal Press

सिद्धार्थनगरको दुई मुख्य चोकमा ट्राफिक लाइट राखिने

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाको दुई मुख्य चोकमा ट्राफिक लाइट राखिने भएको छ । ट्राफिकलाइट स्थापनाका लागि ६० लाख रुपैयाँ बजेट बिनियोजन भएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले बताइन् ।

उपप्रमुख काफ्लेले बजेट प्रस्तुत गर्दै सवारी चापलाई मध्यनजर गर्दै नगरको मुख्यचोक बुद्धचोक र देवकोटा चोक गरी २ स्थानमा ट्राफिक लाइट जडानका लागि ६० लाख रुपैयाँ बिनियोजन गरेको बताइन् ।

‘नगरमा यातायातको चाप बढ्दै गयो, बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य मार्ग बुद्धचोक, देवकोटा चोक पनि अति व्यस्त देखियो । त्यसैले ती दुई स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिकलाइट जडान गर्ने योजना बनाई बजेटमै राखिएको छ,’ काफ्लेले भने ।

नेपाल भारतको सबैभन्दा ठूलो स्थलमार्ग समेत भएकाले भारततर्फबाट समेत धेरै सवारी साधन आउने हुँदा सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडकखण्ड अन्तरगत सिद्धार्थनगर(भैरहवा)का देवकोटा चोक, बुद्ध चोक अति व्यस्त चोक रहेका छन् ।

सवारी चाप अति बढी र सवारी गति पनि अधिक बढी त्यस क्षेत्रमा हुने गरेकाले त्यस क्षेत्रमा सडक दुर्घटनाको जोखिम न्यूनिकरणका लागि ट्राफिक लाइट जडान गर्नुपर्ने माग पहिलादेखि नै आएको थियो । यसअघि यसै सडकखण्ड अन्तरगत मणिग्राम चोकमा तिलोत्तमा नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइसकेको छ ।

सिद्धार्थनगरको बजेटले ट्राफिक लाइट जडानका लागि मात्रै नभई नगर सौन्दर्यीकरण अन्तर्गत मुख्य मुख्य स्थानमा विशेष प्रकारको सडक बत्ति जडान गर्ने कार्यको लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको छ भने विभिन्न सडकहरूमा सडक बत्ती व्यवस्थापन गर्न आवश्यक विद्युत सामग्री खरिदका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख काफलेले बताइन् ।

सिद्धार्थनगरले आगामी आर्थिक वर्ष २०७८/७९का लागि १ अर्ब १८ करोड ७९लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

नगरपालिकाले बजेट परिचालनका लागि आवश्यक रकम मध्ये आन्तरिक आयका स्रोतहरूबाट १९ करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ भने बाँकी रकम संघीय सरकार र प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, नगरपालिकाले राजस्व बाँडफाँडप्राप्त गर्ने रकम र अन्य रकमबाट परिचालन गर्ने जनाएको छ ।

उक्त रकममध्ये सामाजिक विकासतर्फ २७ प्रतिशत, पूर्वाधार विकासतर्फ ४१ प्रतिशत, कार्यालय संचालन तथा प्रशासनिक र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ २१ प्रतिशत र आर्थिक विकासतर्फ ८ प्रतिशत र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ प्रतिशत खर्च हुने अनुमान रहेको उपप्रमुख काफलेले बताइन् ।

नगरपालिकाको कुल बजेटको ४८.४४ प्रतिशत चालुतर्फ र ५१.५६प्रतिशत पूँजीगततर्फ रहेका छन् ।

बजेटले सडक पुर्बाधार, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर