मुरेको गोलमा वेल्स हारबाट जोगियो – Nepal Press

मुरेको गोलमा वेल्स हारबाट जोगियो

काठमाडौं । निर्धारित ९० मिनेटको खेलसकिन १६ मिनेट बाँकी रहँदा किफर मुरेले गरेको गोलसँगै युइएफ युरो २०२० अन्तर्गत स्वीटजरल्यान्डविरुद्धको खेलमा वेल्स हारबाट जोगिएको छ ।

अजरबैजानको बाकुमा भएको समूह ‘ए’को दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । थप आक्रमक शैलीमा दोस्रो हाफमा उत्रिएको स्वीटजरल्यान्डले सुरुआतमै अग्रता लिन सफल भएको थियो ।

खेलको ४९औं मिनेटमा शेर्डन शकिरीले कर्नरमार्फत गरेको क्रसमा ब्रिल इम्बोलोले हेडरमार्फत् गोल गर्दै स्वीटजरल्यान्डलाई अग्रता दिलाएका थिए ।

बल पोसेसन र आक्रमणमा सुरुआतदेखि नै वेल्समाथि दबाब बनाएको स्वीटजरल्यान्डले सोही अग्रता बचाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍यो ।

स्वीटजरल्यान्डसामु संघर्षरत वेल्सका लागि मुरेले जो मोरेलको  क्रसमा हेडरमार्फत सुन्दर गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा मारियो गाभ्रानोभिचले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइडका कारण रद्द गरिदिएका थिए ।

बराबरीसँगै गत संस्करणको सेमिफाइनलिस्ट वेल्स यो सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर