बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै – Nepal Press

बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै

काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस-सी) को संक्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड-१९ को संक्रमण पछिको जलिटलता हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणको तेस्रो र चौथो लहरमा एमआइएस-सी संक्रमण देखिने बढी जनाएको छ । एमआइएस-सी भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले संक्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो संक्रमण देखिन थालेको पुष्टि गरे ।

उनले कोभिड-१९ विरुद्ध शरिरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरिरमा नै हानी गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिने गरेको बताए । उनले ती संक्रमिमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने बताए ।

कान्ति बाल अस्पतालका निर्देशक डा.आरपि बिच्छाले पनि पहिलो लहरको ओरोलो लाग्ने बेलादेखि नै उक्त संक्रमणका बालबालिका देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म ४१ जना बालबालिकामा यस्तो समस्या देखिएको छ । तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फकिएसकेका छन् भने तीन जना अहिले कान्ति अस्पतालमा उपचाररत रहेका छन् । ‘नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआइएस-सी को संक्रमण देखिएको हो,’ उनले भने, ‘अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिकामा बिरामी भएर आएका छन् ।’

उनका अनुसार पहिलो लहरमा २३ बालबालिकामा र दोस्रो लहरमा १५ जना बालबालिकामा बिरामी भएका थिए । ती सबै बालबालिका उपचार गरी घर पठाइसकेको अस्पतालले जनाएको छ । यस्तो खालको संक्रमणको उपचारका लागि अस्पतालले मापदण्ड बनाई उपचार गरिरहेको छ ।

पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । ‘यो रोग पनि कोभिड-१९ कै कारण देखिने संक्रमण हो । यो बालबालिकामा देखिने बित्तिकै आत्तिहाल्नु हुन्न,’ उनले भने, ‘समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।’ उनका अनुसार वेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ ।

यो सामान्यत कोरोना संक्रमण भएको दुईदेखि चार हप्तापछि देखा पर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु जस्ता देखिने गर्दछन् । मन्त्रालयले संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशन अनुसार सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारका लागि छुट्टाउने तयारी समेत गरिसकेका छन् । कान्ति अस्पतालका निर्देशक डा. विच्छाले एमआइएस-सी को संक्रमण भएका बालबालिकाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

उनका अनुसार अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आइसीयू), २५ हाइ डिपेडेन्सी युनिट (एचडीयू) रहेका छन् । यस्तै १० आइसीयू र २५ एचडीयू थप्ने क्रममा रहेको छ । अहिले कोभिड-१९ संक्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ ।

बालबालिकामा एमआइएस-सी को संक्रमणबाट बिरामी तेस्रो र चौथो लहरबाट झनै बढ्ने भएकोले नै यसअघि स्वास्थ्यमन्त्री शेरवहादुर तामाङले बालबालिकाको उपचारका लागि सातै वटा प्रदेशमा आइसीयू र भेन्टिलेटर सहितको अस्पताल स्थापना गर्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बालबालिकाको उपचारलाई लक्षित गरेर २० प्रतिशत शय्या छुट्टाउन थालिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *