निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन प्रहरीको नियन्त्रणमा – Nepal Press

निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ९५ वटा ४ पांग्रे र २ हजार १ सय ७९ २ पांग्रे रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पछि छोडिएको नेपाल प्रहरीले जनाएको हो ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड उल्लंघन गर्ने ५ सय ११ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ९५ हजार १ सय रुपैयाँ जरिवाना पनि गराएको छ । यसै क्रममा ४ हजार ३ सय ८९ जनालाई रोकी सम्झाई बुझाई प्रहरीले छोडेको छ ।

देशभर सञ्चालित ८४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ४९ जनालाई सचेत गराइएको पनि प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *