सुदूरपश्चिममा जघन्य अपराध बढ्दो, घरभित्रै असुरक्षा – Nepal Press

सुदूरपश्चिममा जघन्य अपराध बढ्दो, घरभित्रै असुरक्षा

कैलाली । अघिल्लो मंगलबार बैतडी पञ्चेश्वरका राजबहादुर चन्दले आफ्नै छोरालाई जाँतोमा पछारेर हत्या गरे । छोराको हत्यापछि उनले बुवा र भाइलाई कुटे ।

११ फागुनमा कञ्चनपुरको बेलौरीकी वसन्ती चौधरीले फरुवा प्रहार गरी श्रीमानको हत्या गरिन् ।

२८ माघमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–२ पशुपति टोलमा बुहारी सीता र नाति अर्जुन थापाले ७६ वर्षीय प्रेम थापाको कुटेर हत्या गरे । कुटपिटपछि घाइते भएका थापाको उपचारका क्रममा फागुन १० गते मृत्यु भयो ।

माघ २१ गते बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या पनि उनकै भाइ नाता पर्ने दिनेश भट्टले गरेका थिए ।

त्यसअघि २७ असोजमा कञ्चनपुर शुक्लाफाँटा– ८ स्थित सुनबरा खोलामा माछा मार्न गएकी कालीदेवी खुनाको उनकै देवरले हत्या गरेका थिए ।

यी त पछिल्लो केही घटना मात्रै हुन् । गत वर्ष भीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुर्वण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

त्यसअघि पनि कञ्चनपुर भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका थिए ।

सोही दिन गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन् ।

त्यतिबेलै भजनी नगरपालिका–९ भुरुवामा निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेकी थिइन् ।

त्यसलगत्तै कैलालीको लम्की चुहा नगरपालिका– ९ प्रतापुरमा धारिलो हतियार प्रहार गरी इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरे ।

केहि समयअघि मात्रै कैलालीको घोडाघोडी नगरपालिका– ११ सिसैयामा ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बुवा काल्चे रावतलाई धारिलो हतियारले हानेर हत्या गरे ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो सुदूरपश्चिम प्रदेशमा घरकलहका कारण हत्यालगायत जघन्य अपराध बढ्दो छ । आवेग र उत्तेजनामा यस्ता घटना बढिरहेको बताउँछन् सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंह ।

‘घर भित्रै बिभत्स अपराधका शृंखला बढिरहेका छन्’ एसएसपी सिंह भन्छन्, ‘यो आवेग र उत्तेजनाको परिणाम हो ।’

अधिकांश यस्ता अपराधमा मादक पदार्थ सेवनको प्रभाव धेरै भएको उनको भनाइ छ । जनचेतनाको कमीले पनि पारिवारिक अपराध बढिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्ट बताउँछन् ।

‘पारिवारीक झै–झगडाहरुले ठूलो रुप लिएको पाइएको छ’ उनी भन्छन् ‘यसको लागि सबै भन्दा पहिले चेतनाको स्तर वृद्धि गर्न आवश्यक छ ।’

बदलिँदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोग, आर्थिक अभावलगायतका कारण अपराध बढिरहेको जानकारहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर