‘सबै घरमा बिजुली पुग्दैछ, सडक कालोपत्रे गर्छौं’ – Nepal Press

‘सबै घरमा बिजुली पुग्दैछ, सडक कालोपत्रे गर्छौं’

सुर्खेत । दैलेखको महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले आगामी असारसम्म पालिकाका सबै घरमा बिजुली पुग्ने र खोली बजारदेखि गैंडावाजसम्मको बाटो कालोपत्रे गर्ने बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले आफू निर्वाचित भएर आएको समयमा पालिकाको एउटा वडामा मात्रै बिजुली पुगेको बताए । ‘उतिबेला गाउँमा बिजुली थिएन । नयाँ संरचना निर्माण गर्नुपर्ने अवस्था थियो । अहिले आएर ६ वटै वडामा ग्रामीण विद्युतीकरणको काम रफ्तारसँग चलिरहेको छ’ उनले भने, ‘दश करोडको ठेक्का भइसकेको छ ।

आगामी असारसम्म सबै वडामा बिजुली बल्छ ।’ उनले पालिकाभरि २५० किलोमिटर बाटो निर्माण गरेको बताउँदै प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा तीमध्येका केही बाटाहरू कालोपत्रे गर्ने र कम्तीमा पनि वडा नं. १ को खोलीबजारदेखि पालिकाको केन्द्र वडा नं. ४ को गैंडावाजसम्म कालोपत्रे गर्ने योजना रहेको पनि सुनाए ।

शाहीका अनुसार पालिकाले तीन वटा वडा कार्यालय र पालिकाको प्रशासकीय भवन पनि निर्माण गरिसकेको छ । पाँच वटा स्वास्थ्य संस्था रहेको महावुमा अहिले चार वटा थप भएका छन् भने महावु अस्पताल निर्माण भइरहेको छ । ‘एक दुई दिनमा नै हामीले एमबीबीएस डाक्टरको सेवा शुरू गर्दैछौं । ६ करोड लागतमा एउटा अस्पताल बनिरहेको छ भने नौ करोडको लागतमा केही समयमा नै अस्पताल निर्माणका लागि टेण्डर हुनेछ । डीपीआर तयार भइसकेका छन्’ शाही भन्छन् ।

उनले पालिकाले विभिन्न निकायसँग साझेदारी गर्दै २२०० भन्दा बढी युवालाई रोजगार दिएको दाबी गरे । ‘मुख्यमन्त्री रोजगार कार्यक्रम, विश्व खाद्य कार्यक्रम, अध्यक्ष रोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत त्यो संख्यामा युवाले रोजगारी पाउने छन्’ उनले भने, ‘कृषि तथा पशुपालनमा पनि सयौं युवा रोजगार बनेका छन् । वर्षेनि तीन करोडभन्दा बढीका खसी–बोका निर्यात गर्दै आएका छौं ।’

शाहीले कृषि तथा पशुपालनमा महावुलाई अब्बल बनाउने गरी लगानी भइरहेको पनि बताए । ‘हामीले भैंसीपालनमा सहयोग गर्दै आएका छौं । प्रदेश सरकारसँगको सहकार्यमा पालिकामा धेरै भैंसी भित्रिएका पनि छन्’ उनी भन्छन्, ‘त्यसका अलावा यो वर्ष गाउँमा बाख्रापालनमा झण्डै एक करोड जतिको लगानी गर्दैछौं । साढे एक करोडभन्दा बढी रुपैयाँ तरकारी उत्पादनमा लगानी गर्दैछौं ।’ सहकारी संस्थाहरूसँग पनि सहकार्य गर्दै आइरहेको उनको भनाइ थियो ।

यसका अलावा हालसम्म २०० भन्दा धेरै सिंचाइ पोखरी निर्माण भइसकेका छन् । दुई दर्जनभन्दा बढी सिंचाइ कुलाहरू निर्माण भएका छन् । सिंचाइ पोखरीका कारण उत्पादन बढिरहेको छ । उनी भन्छन्, ‘अन्य क्षेत्रमा पनि लगानी गरिरहेका छौं ।’

एक जनालाई इन्जिनियर र एक जनालाई एचए अध्यापन गराइरहेको उनको भनाइ छ । ‘पालिकामा आवश्यक जनशक्तिका लागि लगानी गरेका छौं । तीन जनालाई हामीले तीनवर्षे कृषिमा सहयोग गरेका छौं । एक इन्जिनियर र एक एचए अध्यापन गराइरहेका छौं’ उनले भने, ‘सबै विद्यालयमा वाईफाई पुगेको छ । हरेक माध्यमिक विद्यालयलाई डिजिटल स्कूलको रूपमा विकास गर्दै गइरहेका छौं । हरेक विद्यालयमा कम्प्युटर राखेर त्यो अभ्यास शुरू गरेका हौं ।’

सबै घरमा खानेपानीका धारा पनि आफ्नो कार्यकालमा जोडिसक्ने र त्यसका लागि बृहत् महावु खानेपानी आयोजना शुरू गर्न लागिएको अध्यक्ष शाहीको भनाइ छ । ‘अहिले खानेपानीमा त्यति धेरै समस्या छैन, तर केही वर्षपछि हुनसक्ने समस्याका कारण हामी बृहत् महावु खानेपानी आयोजना निर्माणको तयारीमा छौं’ शाही भन्छन्, ‘यो आयोजना निर्माण पूरा भएपछि हरेक व्यक्तिको घरमा मिटरसहितको धारा जडान हुनेछ । यसले यहाँको खानेपानी समस्या समाधान हुने पक्का छ ।’

दैलेखको सबैभन्दा अग्लो हिमाल महावुमा धार्मिक कार्य हुने गर्छ । त्यहाँको महावुगाथको विकास गर्न पालिकाले लगानी गरिरहेको छ । पालिकाभरि २०० भन्दा बढी मन्दिरहरूको निर्माण भइसकेको छ । धार्मिक पर्यटनको विकास गर्ने योजना पनि अध्यक्ष शाहीको रहेको छ ।

पालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषिलगायत क्षेत्रको समुचित विकास गर्दै गइरहेको अध्यक्षको दाबी छ । दैलेख सदरमुकाम नारायण नगरपालिकासँग जोडिएको गाउँपालिका भए पनि पालिकामा आउने स्रोतको अभावका कारण अझै धेरै काम गर्न बाँकी रहेको उनको गुनासो छ ।

‘पालिकाको पूँजीगत बजेटले सडक कालोपत्रे गर्न सकिंदैन । पालिकाले अन्य क्षेत्रको पनि विकास गर्नुपर्ने, नागरिकका साना–साना योजनामा पनि लगानी गर्नुपर्ने, नागरिकलाई सर्वसुलभ रूपमा सेवा दिनुपर्ने जस्ता काम गर्नुपर्ने हुँदा अपेक्षा गरे अनुसारको विकास गर्न सकिएको छैन’ उनले भने, ‘यद्यपि चुनावताका जनतामाझ गरेका अधिकांश वाचा पूरा भएका छन् । सबै राजनीतिक दल, कार्यकर्ताको एक मात्रै चाहना विकास निर्माण नै हो । यसमा कसैको मनमुटाव छैन । सबै जसरी हुन्छ विकास गर्नमा लागिपरेका छौं ।’

‘हामी एक्लैले चाहेर पनि यति विकास गर्न सकिने थिएन । यसका लागि हामीसँग सहकार्य गर्ने सबै निकाय धन्यवादका पात्र छन्’ उनले अगाडि भने, ‘आगामी दिनमा पनि सबैसँग सहकार्य गर्न पालिका तयार भएको जानकारी गराउन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर