चाक्सीबारीमा रामचन्द्र पक्षको बैठक- देउवाले आन्दोलनमा जाँगर नदेखाएको निष्कर्ष – Nepal Press

चाक्सीबारीमा रामचन्द्र पक्षको बैठक- देउवाले आन्दोलनमा जाँगर नदेखाएको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउनुपर्नेमा जोड दिएका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको तयारी सुस्त भएको र राष्ट्रिय राजनीतिक विषयमा पनि छलफल आवश्यक भएकोले बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा मूलतः पौडेल पक्षले बुझाएको १६ बुँदे असन्तुष्टि पत्र र त्यसउपर बनेको सहमति कार्यान्वयनको विषयमा केन्द्रित रहेर छलफल भएको थियो । ‘आजको बैठकमा हामीले १६ बुँदे माग कार्यान्वयन र समसामयिक विषयमा केन्द्रित रहेर छलफल गरेका छौं’, वरिष्ठ नेता पौडेलले नेपाल प्रेससँग भने । पार्टीको महाधिवेशन र क्रियाशील सदस्यता वितरणसँग सम्बन्धित विषयमा पौडेल पक्षले गत असोज १२ गते सभापति देउवालाई लिखित असन्तुष्टि पत्र बुझाएको थियो । १६ बुँदे असन्तुष्टि पत्रमा पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर थियो ।

पौडेल पक्षका असन्तुष्टि सम्बोधन गर्ने सहमतिपछि मात्रै कांग्रेसमा केन्द्रीय समितिको बैठक सुचारु भएको थियो । महाधिवेशनका लागि जिल्लाले क्रियाशील सदस्यताको सूची बुझाउने मिति माघ मसान्तमा सकिंदैछ । मिति घर्किन लाग्दा पनि सहमति अनुसार काम नभएको भन्दै पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । बैठकमा १६ बुँदे कार्यान्वयनका लागि देउवा पक्षसँग संवादमा रहेका नेताहरुले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

बैठकमा वरिष्ठ नेता पौडेलले संसद पुनःस्थापनाका लागि आन्दोलन सशक्त बनाउनुपर्ने दोहोर्याएका थिए । वरिष्ठ नेता पौडेलले अब बस्ने केन्द्रीय समितिको बैठकबाट पार्टीलाई सम्पूर्ण रुपमा आन्दोलनमा केन्द्रित गर्न सभापति देउवालाई सबैले दबाब दिनुपर्ने समेत बताए ।

अन्य नेताहरुले सभापति शेरबहादुर देउवाले अग्रसरता नलिंदासम्म आन्दोलन प्रभावकारी नबन्ने बताएका थिए । ‘फागुन ३ गतेको आन्दोलन जिल्लामा भव्य बनाउने कुरा त हो तर शेरबहादुर दाइ निकट सभापतिहरुले जाँगर चलाएका छैनन् । हाम्रो मात्रै बुताले देशभर बृहत् आन्दोलन हुन गार्हो छ’, बैठकमा एक नेताले भनेका थिए ।

फागुन ७ मा उद्घाटन हुनुपर्ने कांग्रेसको महाधिवेशन स्थगितका लागि मात्रै केन्द्रीय समितिको बैठक बोलाउने सभापति देउवाको तयारी छ । पौडेल पक्षका नेताहरुले भने अब बस्ने केन्द्रीय समिति बैठकमा राजनीतिक विषयमा पार्टीको धारणा प्रष्ट बनाएर जानुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर