कांग्रेसले खुट्टा नटेके वाम गठबन्धन ब्युँतन्छ : रघुजी पन्त (भिडियो) – Nepal Press

कांग्रेसले खुट्टा नटेके वाम गठबन्धन ब्युँतन्छ : रघुजी पन्त (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले संसद पुनःस्थापना हुन नसके वाम गठबन्धन ब्युँतिने बताएका छन् ।

नेकपाको प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पन्तले नेपाली कांग्रेस संसद विघटनविरुद्ध दर्‍होसँग नउभिएको खण्डमा वाम गठबन्धन ब्यूँतन सक्ने चेतावनी दिएका हुन् ।

सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा नेता पन्तले निर्वाचनमै जाने हो भनेपनि तत्काल निर्णय लिन कांग्रेस नेतृत्वसँग आग्रह गरे ।

‘कांग्रेसले चुनावै खोजेको हो भने संसद विघटनलाई किन असंवैधानिक भनेको ? कि चुनावमा जाने राजनीतिक निर्णय गरिहाल्नुस् की संविधान बचाउन आन्दोलनबाट संसद पुनःस्थापना गरौं’, पन्तले भने ।

संसद पुनःस्थापना भए वामपन्थी प्रधानमन्त्री बन्ने सम्भावना नरहेको भन्दै पन्तले कांग्रेसलाई नै फाइदा हुने बताए ।

‘संसद पुनःस्थापना भयो भने कांग्रेसलाई फाइदा होला तर चुनाव भयो भने हार्ने चुनाव कोही लड्दैन । पार्टी एउटै नरहला तर चुनावमा वाम तालमेल हुनसक्छ’, पन्तले भने ।

संविधान निर्माणको जस लिने कांग्रेसले संविधान जोगाउन पनि अग्रसरता देखाउनुपर्ने पन्तको टिप्पणी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर