प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित – Nepal Press

प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा १८ महिलासहित १४९ जना इन्स्पेक्टर दीक्षित भएका छन् ।

शुक्रबार आयोजित विशेष समारोहबीच आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछानेको उपस्थिति थियो ।

प्रधानमन्त्री दाहालले तालिम अवधिभरका प्रथम तथा कवाजमा प्रथम प्रशिक्षार्थी पवनकुमार परियारलाई स्वर्गीय ‘कुलानन्द विद्या सर्वप्रथम पुरस्कार’ प्रदान गरे । सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकले पाए ।

प्रधानमन्त्रीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गरे ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यवसायिकता र वृत्तिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले प्रशिक्षार्थीलाई शपथ गराए ।

प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए ।

दीक्षान्त समारोहमा संघीय सांसद एवम् पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, प्रधानसेनापति प्रभुराम शर्मा, गृह सचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, पूर्वप्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, पत्रकार, प्रशिक्षार्थीका अभिभावकको उपस्थिति थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर