कृषि सहकारी घोटाला प्रकरण- यस्तो छ विशेष अदालतका न्यायाधीश थापाको कनेक्सन – Nepal Press

कृषि सहकारी घोटाला प्रकरण- यस्तो छ विशेष अदालतका न्यायाधीश थापाको कनेक्सन

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको ललितपुरको कुमारी पार्टीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारीमा विशेष अदालतका एक न्यायाधीश जोडिएका छन् ।

न्यायाधीश रामबहादुर थापा उक्त सहकारीका संस्थापक अध्यक्ष हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाका भाइ तेजविक्रम थापासहित ४ जनालाई पक्राउ गरेको छ । तेज हालका अध्यक्ष हुन् ।

व्यवस्थापक रहेकी तेजकी श्रीमती सजना र अन्य दुई जना सञ्चालक समिति सदस्य पनि पक्राउ परेका छन् । तत्कालीन समयमा कानुन व्यवसायी रहेका थापा २०६० सालसम्म कृषि विकास बहुउद्देश्यीय सहकारीको अध्यक्ष थिए । राम न्याय सेवा क्षेत्रमा लागेपछि उक्त सहकारी भाइ तेजले सम्हाल्दै आएका थिए । जाहेरी दर्ता रहेको ललितपुर प्रहरी परिसरका अधिकारीले भने रामविरुद्ध कुनै उजुरी नपरेको बताएका छन् ।

तनहुँको ब्यास-१ का ४३ वर्षीय तेजसहित १३ जनाविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोप छ । बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि उजुरी गरेका थिए । हालसम्म ५ सय ६६ जना बचतकर्ताले ९४ करोड २३ लाख ४२ हजार रूपैयाँ बिगो दाबी गर्दै उजुरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । उक्त सहकारीमा २ हजार ५ सय ३१ जना बचतकर्ताको २ अर्ब ८० करोड रकम बचत थियो ।

२०५६ सालमा लेखा प्रमुख र सञ्चालक समिती सदस्य भएर कृषि विकास सहकारीमा छिरेका गरेका तेज २०७१ सालमा सुरू भएको कृषि टेलिभिजन र २०७३ सालमा सुरू भएको गोरखा टेलिभिजनका संस्थापक अध्यक्ष हुन् । काठमाडौं उपत्यकाका विभिन्न १४ स्थानमा शाखा मार्ट रहेको कृषि फ्रेस प्रालिका पनि उनी अध्यक्ष हुन् । उक्त कम्पनी २०७० सालदेखि सञ्चालनमा छ । यस्तै २०७६ देखि सुरू भएको यती टेक्निक प्रालिमा अध्यक्ष, २०६६ सालदेखि सुरू कृषि इन्भेस्टमेन्टमा अध्यक्ष र २०७४ सालदेखि सुरू यति हर्ब्स प्रालिमा पनि अध्यक्ष रहेका छन् ।

एसएसपी भट्टराईका अनुसार ललितपुर प्रहरी परिसरमा २०८० पुस १९ गते कृषि विकास बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध जाहेरी दर्ता भएको थियो । त्यसअघि सहकारी विभागाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर