समानिकरणको अनुदान निकासा नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना – Nepal Press

समानिकरणको अनुदान निकासा नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

रुपन्देही । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय सरकारलाई दिने समानिकरण अनुदान निकासा नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भइसकेका आयोजनाहरू अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।

नीलकण्ठ नगरपालिकाका प्रमुख रहेका ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक पटक रकम निकासाका लागि आग्रह गरेको जनाए ।

उनले भने –‘प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै अब जेठ पहिलो हप्तासम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न बाध्य हुनेछौँ । ‘हामीलाई अझै पनि विश्वास छ सम्माननीय प्रधानमन्त्रीले वचन दिएअनुसार रकम निकासा हुन्छ’ उनले भने, ‘यदि जेठ पहिलो हप्तासम्म पनि रकम निकास नभए जेठको दोस्रो हप्तादेखि सिंहदरबार केन्द्रित आन्दोलन हुन्छ ।’

अध्यक्ष ढुंगानाले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई समेत आन्दोलनका लागि काठमाडौंमा जानुपर्ने हुनसक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

‘यदि रकम निकासा भएन भने जेठको दोस्रो हप्ता काठमाडौं आउनुपर्ने हुन्छ, म सबै स्थानीय सरकार प्रमुखहरूलाई समेत त्यसको तयारी गर्न आग्रह गर्दछु’ उनले भने । उनले संघीय र प्रदेश सरकारलाई संविधान विपरीत नजानसमेत चेतावनी दिएका छन् । अध्यक्ष ढुंगाना आज लुम्बिनी प्रदेशका स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलका लागि आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *