सेबोन अध्यक्ष उम्मेदवारको सर्टलिस्टमा अर्थमन्त्रीको आपत्ति: छनोट समितिसँग सोधे- क्वालिफाइड किन छुटे ? – Nepal Press

सेबोन अध्यक्ष उम्मेदवारको सर्टलिस्टमा अर्थमन्त्रीको आपत्ति: छनोट समितिसँग सोधे- क्वालिफाइड किन छुटे ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि सर्टलिस्टमा परेका नामप्रति असन्तुष्ट भएको उनको सचिवालय स्रोतले बताएको छ ।

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले गत बिहीबार अन्तर्वार्ताको (कार्ययोजना पेश गर्ने) मिति तय गरेको थियो । तर, अध्यक्ष सिफारिस समितिले शेयर बजारसम्बन्धी ज्ञान नै नभएका व्यक्तिलाई पनि अघि सारेको र उनैलाई नियुक्त गर्न दबाब आएपछि अर्थमन्त्री पुन रुष्ट बनेको स्रोतको दाबी छ ।

दबाबमा परेको नामलाई छनोट गर्नुपर्ने डरले तोकिएको अन्तर्वार्ताको समय पनि रद्द गरेर मन्त्री पुन आजै अमेरिका उड्दैछन् । उनीसहित अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, सोही शाखाका वर्ल्ड बैंक हेर्ने कञ्चन बस्नेत, निजी सचिव भुपाल शाक्यलगायत विश्व बैंकको बैठकमा जाँदैछन् ।

विश्व बैंकको वसन्तकालीन बैठक अप्रिल १६ तारिखमा हुँदैछ । बैठक बैशाख ८ गते सकिने र ९ गते मन्त्री पुन स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालय स्रोतले जनाएको छ ।

स्रोत भन्छ, ‘अर्थमन्त्रीले अहिले प्रक्रिया अघि नबढाऔ, म आएपछि हेरौंला भन्नुभएको छ । अब उहाँ आएपछि सोही पाँच जनालाई नै अन्तिम मान्ने कि पुनः रिभ्यू गर्ने तय हुनेछ ।’

अध्यक्ष सिफारिस समितिले आवेदक १९ जनामध्ये डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठलाई अन्तिम ५ मा छनोट गरेको थियो । जसमध्ये मुक्तिनाथ श्रेष्ठ बोर्डमै कार्यकारी निर्देशकको भूमिका रहेका छन् । तर, भ्रष्टाचार गरेको आरोपमा संसदको लेखा समितिको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छनाबिन गरिरहेको छ ।

डा. नवराज अधिकारी पनि बोर्डकै कार्यकारी निर्देशक हुन् । चिरञ्जीवी चापागाईं नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी र तत्कालीन बीमा समिति अध्यक्षमा समेत काम गरिसकेका व्यक्ति हुन् ।

कृष्णबहादुर कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । अन्तिम ५ जनाको सूचीमा पूँजी बजारसम्बन्धी ज्ञान नभएका सन्तोषनारायण श्रेष्ठ देखिन्छन् । अर्का मुक्ति श्रेष्ठ ज्ञान भए पनि भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

विज्ञहरुले भ्रष्टाचारको मुद्दा खेपेको जगजाहेर हुँदाहँदै त्यस्ता व्यक्तिलाई कुन मनसायले छनोट गरियो भन्दै अर्थमन्त्री पुनले प्रश्न गरेका थिए । अहिले अधिकांश लगानीकर्ताले समग्र पूँजी बजारलाई बुझेको व्यक्ति अध्यक्ष हुनुपर्ने माग गरेका छन् ।

छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र प्राध्यापक कृष्ण निरौला छन् । समितिको सचिवालयको कामको जिम्मा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर