विपक्षी दलप्रति सभामुखको रोष- संसदभित्र र बाहिर दोहोरो कुरा नहोस् (भिडिओ) – Nepal Press

विपक्षी दलप्रति सभामुखको रोष- संसदभित्र र बाहिर दोहोरो कुरा नहोस् (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको चालू हिउँदे अधिवेशनअन्तर्गत अन्तिम बैठक बसिरहेको छ ।

आज पनि विपक्षी दलका सांसदहरू सदन अवरुद्ध गर्न उठेपछि सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारी पालना नगरिएको भन्दै उनले रोष जनाए । समिति बैठकमा केही कार्यसूची हटाएर जरुरी विषय मात्र सदनमा प्रवेश गराउने सहमति भएको थियो । सोहीअनुसार बैठक अघि बढाउन खोज्दा कांग्रेस, राप्रपा, लोसपाका सांसद उठेका थिए ।

सभामुखले सहमतिको आधारमा अघि बढ्न आग्रह गर्दै गलत परिपाटी नबसाउन ध्यानाकर्षण गराए ।

कार्यसमितिमा भएका धारणा र निर्णयको आधारमा बैठक सञ्चालनमा सहज गर्न अनुरोध गर्दै उनले भने, ‘कार्य व्यवस्था परामर्श समितिमा भएका विषय र समझदारी जानकारी गराउन चाहन्छु । त्यहाँ एउटा कुरा गर्ने, यहाँ आएर अर्को कुरा गर्ने हामी कस्तो पारिपाटीको विकास गर्दैछौं ? यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्धत नहौँ । जे सहमति गर्छौं त्यसको आधारमा अघि बढौं ।’

त्यसपछि उनले ७ वटा कार्यसूची हटाइएको जानकारी गराए । सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुका साथै लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित सदस्यको नाम नामेसी पढेर सुनाउने कार्यसूचीमात्र समावेश गरिएको छ । त्यस्तै चालू अधिवेशनमा भएगरेका काम कारबाहीको संक्षिप्त जानकारी गराइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर