दिल्लीबाट फर्केर दुर्गा प्रसाईँले भने- मेडिकल कलेजको सम्बन्धन आयो, अब बैंकको पैसा तिर्छु (भिडिओ) – Nepal Press

दिल्लीबाट फर्केर दुर्गा प्रसाईँले भने- मेडिकल कलेजको सम्बन्धन आयो, अब बैंकको पैसा तिर्छु (भिडिओ)

एक हप्ताभित्र आफ्ना हतियार फिर्ता फिर्ता गर्न सरकारलाई अल्टिमेटम, आफूलाई पक्रेर देखाउन चुनौती

काठमाडौं । २० दिन दिल्ली बसेर फर्केका व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न अल्टिमेटम पनि दिए ।

प्रसाईँलाई सरकारले पक्राउ गर्न लागेको चर्चाबीच उनी दिल्ली पुगेका थिए । उनले दिल्ली जानुको कारण खुलाएनन् । उनी पहिलेभन्दा अझै आत्मविश्वासी र उत्तेजक रुपमा पत्रकारमाझ पेश भएका थिए ।

प्रसाईँले सुरुमा आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतले गरेको आदेशको स्वागत गरे । १३ वर्षसम्म आफूलाई अन्यायमा पारिएकोमा अदालतले न्याय दिएको उनको प्रतिक्रिया छ ।

‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिइयो तर १३ वर्षसम्म सम्बन्धन नदिएर रुवाएर, तड्पाएर राखेका थिए । अदालतबाट सम्बन्धन दिने आदेश भएको छ । देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद,’ उनले भने ।

प्रसाईँले अब एफिलियसन आएपछि कलेज चलाउने र बैंकको लोन चुक्ता गर्ने बताए ।

‘म बैंकको पैसा तिर्छु । अब लडाइँ झन् एग्रेसिभली जान्छ । अब मसित पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु । क्लियर कुरा यही हो,’ उनले भने ।

यति भनेपछि उनी सरकारविरुद्ध खनिए । आफ्ना अंगरक्षकलाई पक्राउ गरिएकोमा उनको चर्को आक्रोश थियो थियो ।

प्रसाईँका केही अभिव्यक्ति:

झापा जिप्रकाले सिफारिस गरेर गृह मन्त्रालयको सुरक्षा समितिको बैठक बसेर, गृह मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हतियार मगाइदिनु भनेर चिठी लेखेको थियो । त्यही हतियार हो । लाइसेन्समा नै देशभरि जहाँ पनि लिएर जान पाइने र अवस्था हेरेर प्रयोग गर्न पाइने भनेर लेखिएको छ । तर, हाम्रो त्यो हतियारमा, केटाकेटी चिनीमा भुलेजस्तो, एमालेका साथीहरू केटीमा भुलेजस्तो गरेर राज्य मेरो हतियारमा भुलेको छ ।

मलाई यहाँ गोली हान्यो भने कसले जिम्मेवारी लिन्छ ? यही देशमा मदन भण्डारी हत्या भएको छ । राजा रानीको हत्या भएको छ । सुशील कोइरालाको हत्या भयो, प्रकाश दाहालको हत्या भयो भन्छन् । राष्ट्र र देशका लागि कुरा उठाउनेको हत्या भएको छ । हामीलाई पुलिस प्रशासनप्रति भरोसा छैन । नेता र तस्कर जोगाउन पुलिस प्रशासन लागेको छ ।

यो देश जोगाउँछु, धर्म संस्कृति जोगाउँछु भन्दा दुर्गा प्रसाईँलाई धम्की दिएर अंगरक्षकलाई पक्रिने काम भयो । पहिले दुर्गा प्रसाईँको हातगोडा कटेपछि आफैँ ढल्छ भन्ने होला । म भन्छु, म त्यत्तिकै चलेको छैन । तिमीहरूलाई जुन बाउले चलाउँछ नि, त्यो बाउसँग मेरो राम्रो सम्बन्ध छ भन्ने बुझ । जसलाई यिनीहरूको बाउले चलाउँछ, त्यहीसँग दुर्गा प्रसाईँको सम्बन्ध छ । भारत, चाइना, अमेरिका को कोसँग छोडिदिनुस् न ।

मेरो हतियार मात्र होइन, अन्य सामान पनि लुटिएको छ । अंगरक्षकले लगाएको बेल्टसमेत खोसियो । राम्रो बेल्ट देख्नै नहुने । म आइजीसाब र गृहमन्त्रीलाई दुई वटा कुरा भन्छु । मलाई फोटो सार्वजनिक नगर्नु भनेर गृहमन्त्रीले खबर पठाउनुभएको छ । म तस्करहरूको फोटो सार्वजनिक गर्छु । मेरो चुनौती हो । म रवि लामिछानेलाई भन्न चाहन्छु कि म प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्छु, पक्रेर कारबाही गर्नुस् । तर मजाक गर्नुभयो भने तपाईँ आगोमा हाम्फाल्दै हुनुहुन्छ ।

मलाई पक्रिने भनेर धम्की आएको छ । पक्रेर लैजाऊ भाइ, म आएँ । मलाई केही फरक पर्दैन । आऊ । मैले भने नि, म डराउने वाला छैन । हिजो जनयुद्धकालमा गणतन्त्र ल्याउन ६ महिना सैनिक हिरासतमा बसेको । मलाई छोएर हेर ।

हतियार कसैले सेफमा राख्न किनेको हुँदैन । आवश्यकता अनुसार प्रयोग गर्न किनेको हुन्छ । किन दिएको त अनुमति ? सुन हो र छानबिन गर्ने ? मेरो हप्ता दिनमा लाइसेन्स फिर्ता भएन भने पाँच जना पुलिसका नाममा मुद्दा हाल्छु । २५ हजार तलब खानेले एकै पटक वकिललाई ५० हजार बुझाउँदा थाहा पाउँछन् ।


प्रतिक्रिया

2 thoughts on “दिल्लीबाट फर्केर दुर्गा प्रसाईँले भने- मेडिकल कलेजको सम्बन्धन आयो, अब बैंकको पैसा तिर्छु (भिडिओ)

  1. दुर्गा प्रसाईंलाई सारा जनताको साथ छ र रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *