बुटवलवासीले कहिले खान पाउँछन् झुम्सा खोलाको पानी ? – Nepal Press

बुटवलवासीले कहिले खान पाउँछन् झुम्सा खोलाको पानी ?

बुटवल । छिमेकी पालिकाका मुहान संरक्षण र प्रभावित बस्तीको माग सम्बोधन गर्दै सुरु भएको बुटवल खानेपानी आयोजना यस क्षेत्रको ड्रीम प्रोजेक्ट हो । डीपीआर तयार पारेर मुहान संरक्षण, समुदायको अपनत्व, पर्यावरण सन्तुलनसहित खानेपानी समस्याको दीर्घकालीन समाधान गर्नेगरी ६ वर्षअघि सुरु गरिएको यो प्रोजेक्टको लागत अनुमान झण्डै ६ अर्ब छ ।

सुरुका प्रयास सार्थक नभएपछि अहिले फरक ठाउँबाट व्यवस्थित ड्याम, टंकी र पाइपलाइनमार्फत् बुटवलमा पानी ल्याउनेगरी आयोजना अगाडि बढाइएको छ । पाल्पा जिल्लाको तिनाउ गापा वडा नं. ३ र ४ को सिमानामा पर्ने झुम्सा खोलाबाट दैनिक ३२ एमएलडी पानी उत्पादन तथा प्रशोधन गरी वितरण गर्नेगरी ड्याम इन्टेक निर्माण सम्पन्न भएको छ । पाइपलाइन विस्तारको काम पनि अधिकांश पूरा भइसकेको छ ।

झुम्सा खोलादेखि बुटवलको रामफेदीसम्म १३.५ किलोमिटर लामो पाइपलाइन विस्तार भइरहेको छ । यसमध्ये १२.८ किमि पाइप लाइन विस्तार पूरा भइसकेको बुटवल खानेपानी आयोजनाका इन्जिनियर मोहन दत्त भट्टले जानकारी दिए ।

आयोजना सुरु भएलगत्तै फैलिएको कोभिड र स्थानीयको अवरोधले काम प्रभावित भए पनि अहिले सबै अवरोध समाधान भएर निर्माणले तीब्रता पाएको बुटवल खानेपानी आयोजनाको दाबी छ । आयोजनाका अनुसार अब तीनमध्ये एउटा भत्किएको क्रसिङ ट्रस ब्रिज निर्माण गर्न बाँकी छ । पानी प्रशोधन केन्द्र र बुटवलका विभिन्न ठाउँ गरी १० वटा पानी भण्डारण टंकी निर्माण बाँकी छन् ।

बुटवलमा पानी ल्याएपछि पहिलो चरणमा पाँच वटा कोर एरियामा टंकी निर्माण गरेर वितरण गरिनेछ । हिलपार्क, बुटवल वडा ३, १०, १२ र सैनिक क्याम्प क्षेत्रमा विशेष टंकी निर्माण गरिने आयोजनाले जनाएको छ । अर्को चरणमा बाँकी पाँच वटा टंकी निर्माण गरिनेछ ।

मुख्य पाइप लाइन विस्तार अन्तिम चरणमा

विसं २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै विलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । २०७७ मंसिर ११ गते तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ड्याम/इन्टेक कार्यको शिलान्यास गरेका थिए । पानी उत्पादन गर्न प्रशारण पाइपलाइन तथा क्रसिङ ट्रस ब्रिज निर्माण कन्काई एण्ड कालिका जेभी कोटेश्वर काठमाडौंले गरिरहेका छन् ।

यसैबीच झुम्सा खोला खानेपानी आयोजनाको महान र अर्थात् ड्याम्म स्थलको नेपाल सरकारका खानेपानीमन्त्री राजेन्द्र राई, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसाललगायत विज्ञसहितको टोलीले निरीक्षण गरेको छ ।

विज्ञहरुको निगरानीमा निर्माण कार्य अगाडि बढाउन आयोजनास्थलमै पुगेर मन्त्री राइले निर्देशन दिएका छन् । समय तालिका निर्माण गरेर निर्माण अगाडि बढाउन उनले निर्देशन दिए ।

झुम्सा खोलाको फिरफिरे घाटमा भत्किएको ट्रस ब्रिजका संरचना हटाउने काम धमाधम भइरहेको र अरु दुई ठाउँमा ट्रस ब्रिज निर्माणको काम चलिरहेको छ । झुम्सा खोलाको फिरफिरे घाटमै इन्टेक निर्माणको काम सकिएर केही किमि पाइपलाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाएको थियो । भत्किएको ट्रसका बारेमा मन्त्रालयले छानबिन समिति गठन गरेर आयोजनास्थलमै पठाएको थियो ।

माग दैनिक चार करोडभन्दा धेरै, आपूर्ति आधाभन्दा थोरै

तीन लाखभन्दा धेरै जनसंख्या रहेको र वर्षेनी जनघनत्व बढिरहेको बुटवलका लागि खानेपानी समस्या नौलो होइन । समस्या समाधान गर्न भएका कैयौं पहल अहिलेसम्म सफल भएका छैनन् ।

अहिले बुटवलमा झण्डै साढे चार करोड लिटर खानेपानीको माग रहेको बताइन्छ । तर, आपूर्ति भने दुई देखि अढाई करोड लिटरसम्म हुने गरेको छ । तिनाउबाट दैनिक ८० लाख लिटर र ११ वटा ट्युबवेल (बोरिङ)बाट ९० लाख लिटर गरी खानेपानी आपूति गरिएको संस्थानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *