प्रेमीलाई `सुपारी´ दिएर श्रीमानकाे हत्या, देख्नेको `मुख टाल्न´ ई‍सेवामा ९० हजार ट्रान्सफर – Nepal Press

प्रेमीलाई `सुपारी´ दिएर श्रीमानकाे हत्या, देख्नेको `मुख टाल्न´ ई‍सेवामा ९० हजार ट्रान्सफर

पोखरा । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा मृत फेला परेका रामबहादुर तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका-३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसहित ४ जनालाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

चैत १ गते मादी गाउँपालिका-१ सिक्लेसमा टाउकोमा चोटपटक लागेको अवस्थामा तामाङको शव भेटिएको थियो । प्रहरीको अनुसन्धानपछि घटनामा मृतककी श्रीमती कान्छी लामा तामाङसहित ४ जनाको संलग्नता देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार कान्छी लामा, धन लामा र दुई किशोरलाई पक्राउ गरिएको छ । उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

श्रीमतीकै योजनामा हत्या

रामबहादुर र कान्छी लामा ५/६ वर्ष देखि छुट्टाछुट्टै बस्दै आएका थिए । पतिले अर्की ल्याएपछि कान्छी तामाङले बहुविवाहको मुद्दा लिएर अदालत गएकी थिइन् । अदालतको आदेशअनुसार कैद सजाय पाएका रामबहादुर कैद भुक्तान गरी निस्किएसँगै श्रीमतीले मार्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको छ ।

पक्राउ परेका धन लामा भने पत्नी कान्छी लामाको प्रेमी रहेको बताइएको छ । ५ वर्षअघि नै रामबहादुरसँग चिनजानमा रहेका धन लामा सँगै हाइड्रोपावरमा एक्स्काभेटर सहचालकको रूपमा काम गर्थे । उनीहरूबीच विवाद रहेको पनि थियाे । रामबहादुरकी पत्नी कान्छी लामाले ‘पन्छाउनु पर्‍यो, पैसा दिन्छु’ भनेपछि धनसहितका ३ जना रामबहादुरसँगै पोखरा आएको प्रहरी बताउँछ ।

‘गत फागुन अन्तिम हप्तामा घरमा गई बुबाआमासँग भेट गरी रामबहादुर सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनी निस्किएको देखिन्छ । त्यसपछि उनी फागुन ३० गते राति काठमाडौंमा अन्य साथीहरूसँग सिक्लेसामा रहेको हाइड्रोपावरतर्फ लागेको पाइएको छ’, विकले भने ।

सिक्लेशस्थित रहेको हाइड्रोपावरमा काम गर्न जाने क्रममा चैत १ गते बाटोमा रामबहादुरलाई धन लामासहित ३ जनाले हत्या गरेका हुन्। टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेपछि उनीहरूले शवलाई सडकदेखि ३० मिटर तल भिरमा फालिदिएका थिए ।

हत्या गरेपछि धन लामाले मृतकको श्रीमतीलाई फोन गरेर जानकारी दिएको प्रहरी अनुसन्धानबाट देखिएकाे छ।

‘घटनाबारे अन्य २ जना व्यक्तिले देखेका छन्, उनीहरूको मुख टाल्न पैसा थप गरेर पठाऊ’ भनी ई-सेवा आइडी दिएपछि मृतकको श्रीमतीले ९० हजार जम्मा गरिदिइन् । उक्त रकम काठमाडौँ गएर निकाली २०-२० हजार अन्य दुईजनालाई दिएको बाँकी ५० हजार धन लामा आफूले राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *