राष्ट्रियसभा : प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै संघीय सरकारको आलोचना – Nepal Press

राष्ट्रियसभा : प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै संघीय सरकारको आलोचना

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै संघीय सरकारको आलोचना गरेका छन् ।

शुक्रबार बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना सहज ढंगले अघि बढ्ने गरी आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्न पनि माग गरे । मधेस, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश पछि परेकाले ती प्रदेशमा आगामी बजेट केन्द्रित गर्नुपर्ने उनीहरूको तर्क छ ।

सांसद नारायणदत्त भट्टले प्रदेश सरकारलाई अधिकारविहीन बनाउने काम गरिएको भन्दै संघीय सरकारको आलोचना गरे । घरघरमा सिंहदरबार भन्ने तर अधिकार प्रदेश सरकारलाई नदिने काम गरिएकाले जनताले सहज ढंगले राज्यको सेवा सुविधा पाउन नसकेको उनको टिप्पणी थियो ।

आगामी आर्थिक वर्षको बजेटमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासलाई प्राथमिकता दिन सांसद तुलसाकुमारी दाहालले सरकारलाई सुझाव दिइन् ।

उनले भनिन्, ‘राष्ट्रिय गौरवका आयोजनालाई सूचारु गराउने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्न आवश्यक छ । मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासलाई ध्यान दिएर बजेट ल्याउन आग्रह गर्दछु ।’

सांसदहरुले सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा पनि आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । सांसद गोपीबहादुर सार्की, अछामीले सर्वोच्च शिखर सगरमाथा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण सम्पदा भएकाले सो क्षेत्रसम्म जाने गरी सडक पूर्वाधारको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे ।

मुलुकको समृद्धिका लागि कोशी प्रदेशमा रहेका उदयपुर सिमेन्ट, विराटनगरमा रहेको जुटमिललगायतका क्षेत्रको विकासको पनि सरकारले उचित ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *