प्रदेश सरकारले पौने ३ करोड खर्चिएको स्वीमिङ पुल, बालबालिका खेल्छन् फुटबल – Nepal Press

प्रदेश सरकारले पौने ३ करोड खर्चिएको स्वीमिङ पुल, बालबालिका खेल्छन् फुटबल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लामोसाँघुमा निर्माण गरिएको पौडी पोखरी (स्वीमिङ पुल) सञ्चालनमा नआउँदा निर्माण भएको भौतिक संरचना अलपत्र परेको छ ।

आन्तरिक र वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने र स्थानीयलाई पौडी खेलप्रति रुचि जगाउने उदेश्यले बागमती प्रदेश सरकारको करोडौंको लगानीमा निर्माण गरिएको पुल अलपत्र परेको हो ।

बागमती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातवरण मन्त्रालयले चार वर्ष अगाडि बहुउपयोगी हुने गरी सुनकोशी गाउँपालिका–७ को बसन्तपुर खेल मैदान नजिकै विशाल पौडी पोखरी (स्वीमिङ पुल) निर्माण गरेको थियो ।

स्विमिङ पुलको ९० प्रतिशत निर्माणको काम सम्पन्न भएपनि बाँकी १० प्रतिशत कामका लागि प्रदेश सरकारले बजेट नपठाएपछि उक्त स्वीमिङ पुल अहिले बालबालिकाहरुको लागि फुटबल खेल्ने ठाउँ भएको छ ।

बागमती प्रदेश सरकारको बहुउपयोगी हुने गरी स्वीमिङ पुल निर्माणका लागि ४ करोड बजेट विनियोजन गरेको थियो । पर्यटन वन तथा वातवरण मन्त्रालय अन्र्तगतको पर्यटन विकास आयोजना हेटौँडाले ठेक्का प्रक्रिया मार्फत २ करोड ७५ लाख ७४ हजार रुपियाँको लागतमा डेढ वर्ष लगाएर स्वीमिङ पुल,पानी जम्मा हुने ट्याङकी र पानी फिल्टररेशन निर्माण सम्पन्न भएको थियो । २०७७ साल भदौ १८ गते सम्झौता भएर सुरु गरिएको निर्माणको काम २०७८ चैत ३० गते सम्पन्न भएर आयोजनालाई बुझाइएको थियो ।

पौडी पोखरी निर्माण भएपनि यसको घेराबार,चेन्जिङ रुम,शौचालय लगायत अन्य केही संरचना निर्माण गर्न प्रदेश सरकारले बजेट नदिएपछि लामो समयदेखि स्विमिङ पुल अलपत्र परेको सुनकोशी–७ का वडा अध्यक्ष ईश्वर तिमिल्सिनाले जानकारी दिए ।

बागमती प्रदेशका पूर्व उद्योग, पर्यटन वत तथा वातवरणमन्त्री अरुण नेपालको पहलमा उक्त स्थानमा स्वीमिङ पुल निर्माणका लागि बजेट विनियोजन भएर निर्माण सुरु भएपनि त्यसपछिका सरकारहरुले बजेट नराख्दा करोडौंको लगानीमा निर्माण सम्पन्न भएको स्वीमिङ पुल अहिले अलपत्र परेको पूर्वमन्त्री अरुण नेपालले बताए ।

पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी सगरमाथ आरोहणका लागि यही बाटो हुँदै गएकाले स्वीमिङ पुल नजिकैबाट लिसंखु पाखरको मुडेसम्म पदमार्ग निर्माण गर्ने र मुडेमा हिल स्टेशन निर्माण गरेर त्यहाँबाट दोलखा लगायतका धार्मिक र पर्यटकीय स्थलसम्म जाने पर्यटकहरुलाई आर्कर्षित गर्नका लागि त्यतिबेला आफूहरुले बसन्तपुर क्षेत्रमा स्वीमिङ पुल निर्माणको अवधारण ल्याएको पूर्वमन्त्री अरुण नेपालले जानकारी दिए ।

लामोसाँघु क्षेत्र बढी गर्मी हुने क्षेत्र भएको र विद्यालय, क्याम्पससँगै अन्तराष्ट्रिय स्तरको फुटबल खेल मैदान पनि यही भएकाले सबैलाई आर्कर्षित गर्न र यहाँ आन्तरिक र बाह्य पर्यटकहरुलाई आर्कर्षित गर्ने योजनाका साथ स्विमिङ पुल निर्माण सुरु गरिएको नेपालले बताए ।

स्विमिङ पुल पनि निर्माण भयो,केही मिटर पदमार्ग पनि बन्यो र मुडेमा हिल स्टेशन पनि बन्यो तर त्यसपछिका सरकारले यसको स्वामित्व ग्रहण नगर्दा सबै संरचनाको निर्माण कार्य भने पुरा नभएको पूर्व मन्त्री नेपालको गुनासो थियो । मन्त्री फेरिन साथ, यसअघि सुरु भएका योजनाहरु पनि सबै अलपत्र प¥यो,करोडौ्रको लगानीमा निर्माण भएका यस्ता संरचनाहरुको प्रदेश सरकारले स्वमित्वमा लिएर सञ्चालनका लागि थप बजेट विनियोजन गर्नका लागि पूर्व मन्त्री नेपालले आग्रह गरे ।

स्विमिङ पुल निर्माण भएर सञ्चालन नहुँदा अलपत्र भएपछि सुनकोशी गाउँपालिकाले यो वर्ष १० लाख बजेट विनियोजन गरेर घेराबारको काम गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘हाम्रो पालिका भित्र करोडौंको भौतिक सम्पत्ती छ,तर त्यसको सञ्चालन पनि भएको छैन हामीलाई हस्तान्तरण पनि गरेको छैन’ अध्यक्ष तिमिल्सिनाले भने– ‘स्वीमिङ पुलको संरचना टुटफुट भएपछि हामीले घेराबारको काम गरेका छौं ।’

प्रदेश सरकारले बाँकी काम पूरा गरेर गाउँपालिकालाई हस्तान्तरण गरे,त्यसको सञ्चालन र संरक्षण गाउँपालिकाले गर्ने अध्यक्ष तिमिल्सिनाले बताए । प्रदेश सरकारले अब बाँकी काम नगर्ने र त्यसको स्वामित्व गाउँपालिकालाई दिए निर्माण बाँकी भएको सबै काम अब आफूहरुले नै गर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर