काँध फेरेसँगै परिवर्तित प्रचण्ड : गगन थापाले भेट्न खोज्दा ओलीसँग मागे अनुमति – Nepal Press

काँध फेरेसँगै परिवर्तित प्रचण्ड : गगन थापाले भेट्न खोज्दा ओलीसँग मागे अनुमति

काठमाडौं । माओवादीले काँध फेरेर एमालेतिर लागेपछि कांग्रेस पदाधिकारी बैठकमा शेरवहादुर देउवाले भनेका थिए- म चाहिँ आशंका होला, प्रचण्ड रिसाउँछ भनेर केपी ओलीले भेटौं भेटौं भन्दा पनि भेट्न मानिन । उता प्रचण्ड चाहिँ खुसुखुसु ओलीसँग भेटेर यस्तो गरिसकेछ ।

प्रचण्डलाई आशंका नहोस् भनेर ओलीसँग भेट्न समेत नमानेका देउवा अहिले एमालेको प्रस्ताव स्वीकार गरेर प्रधानमन्त्री नबनेकोमा पश्चातापमा छन् । उता देउवालाई एक वर्षमा दोस्रोपटक धोका दिएर एमालेसँग दोस्रोपटक सहकार्यमा फर्किएका प्रचण्डमा भने परिर्वतन देखिन थालेको छ ।

माओवादी नेताहरूका अनुसार अब गठबन्धनमा विशेषगरी एमालेलाई आशंका हुने खालका कुनै गतिविधि नगर्ने प्रचण्डले संकेत दिएका छन् । एमालेसँगको सहकार्य यो संसदको पूरै कार्यकालमात्र नभएर त्यसपछिको चुनावसम्मै रहने भएकलो सोही अनुसार एमाले पंक्तिसँग व्यवहार गर्न उनले तलैसम्म सन्देश समेत प्रवाह गरेका छन् ।

यसको एउटा उदाहरण हो शनिवारको घटनाक्रम । शनिबार साँझ कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीसँग भेट्नका लागि समय मागे । हिजोसम्मको सत्ता सहयात्री दलका प्रभावशाली नेताको टिमले भेट्न खोजेपछि उनले तत्कालै आउनुस् समेत भन्न सकेनन् ।

सत्ता घटक प्रमुख दुइ दल नेकपा एमाले र माओवादीबीचको सत्तागठबन्धन धेरै समय नटिक्ने हल्ला चलिरहँदा माओवादी अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड दुई दल बिच अविश्वास हुने गरी कुनै पनि गतिविधि नगर्ने मनस्थितिमा पुगेको त्यसक्रममा बालुवाटारमा रहेका माओवादी नेताहरुले महसुस गरे ।

एक प्रत्यक्षदर्शीका अनुसार गगन थापा लगायतले प्रधानमन्त्रीसँग भेट गर्न आउन लागेको भन्दै टेलिफोन गरेपछि उनले सल्लाह गरेर मात्रै निर्णय गर्ने जवाफ दिएका थिए । लगत्तै प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर कांग्रेस महामन्त्रीसहित नेताहरु आफूलाई भेट्न आउन चाहेको बताएका थिए ।

त्यसबेला बालुवाटारमै रहेका एक नेताका अनुसार ओलीले हुन्छ भनेपछि मात्रै प्रधानमन्त्रीले भेट्न आउनका लागि समय दिएका थिए । नेपाल प्रेससँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीसँग यसबीचमा भेट भइसकेको पुष्टि गरे । स्रोतकाअनुसार ओलीसँग अनुमति लिएपछि प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमै कांग्रेस महामन्त्री थापा र मुख्य सचेतक रमेश लेखकसँग भेट गरेका थिए । नेताहरूबीचको भेटमा घोचपेच चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर