सरुवा भएर जाँदाजाँदै सिन्धुपाल्चोकका एसपी राणा विवादमा, पैसा नदिएपछि क्रसरको चाबी खोसेको आरोप – Nepal Press

सरुवा भएर जाँदाजाँदै सिन्धुपाल्चोकका एसपी राणा विवादमा, पैसा नदिएपछि क्रसरको चाबी खोसेको आरोप

चैतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले सरुवा भएर आइतबार जिल्ला छाड्दै गर्दा रमाना हुने अन्तिम दिन केही क्रसर उद्योगहरूमा गएर वितण्डा मच्चाएका छन् ।

जिल्लामा आएदेखि नै विवादास्पद छवि बनाएका एसपी राणाले शनिबार बाह्रविसे नगरपालिकाको जुरेमा सञ्चालित क्रसर उद्योगमा गएर त्यहाँ सञ्चालनमा रहेको स्काभेटर र गाडीको चाबी थुतेर लगेका छन् ।

एसपी राणाका घुमुवा विनोद खड्कामार्फत पटकपटक क्रसरमा पैसा उठाउन गएपनि क्रसर सञ्चालकहरूले आफूहरूले नियमसंगतरूपमा नै क्रसर सञ्चालन गरिरहेको बताउँदै पैसा नदिएपछि शनिबार दिउँसो आएर क्रसरका कामदारहरूलाई आतंकित बनाएर चाबी खोसेर लगेको क्रसरका सञ्चालक विदुर पराजुलीले जानकारी दिए ।

‘एसपी साब आएर कागजपत्र माग्नु भयो, हामीले सबै कागजपत्र देखाएपछि कागजपत्र सबै ठीक छ तर हामीलाई जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले चाबी खोसेर ल्याउनु भनेर आएका हौं भनेर लगे’ पराजुलीले भने ।

सबै कागजपत्र ठीक हुँदा पनि किन चाबी लगेको भन्ने प्रश्नमा एसपी राणाले जिसस प्रमुख श्रेष्ठलाई गएर सोध्नु भन्दै हिँडेका थिए । जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठ र एसपी राणाले आफूहरूलाई सुरुदेखि नै दुःख दिएको क्रसर सञ्चालकहरूले गुनासो गरेका छन् ।

बाह्रविसे नगरपालिकाले ठेक्का आह्वन गरेपछि बगरबाट सामग्री उत्खनन् र बिक्रीबापत १ करोड १६ लाख ३५ हजार ५ सय रुपैयामा आफुहरुले ठेक्का हालेर नियम अनुसार नै खोलाबाट नदीजन्य पदार्थ उत्खन्न सुरू गरेको ठेकेदारहरूले बताए । नगरपालिकाबाट सुनकोशी नदीको जुरे आसपासबाट नदीजन्य सामग्री निकाल्नका लागि महादेव भोटेकोशी कन्स्ट्रक्सन एण्ड मल्टी प्रपोज र सिन्धु सुनकोशी इन्फ्रा प्रालिलाई जिम्मेवारी दिएको थियो ।

‘बाह्रविसे नगरपालिकाले उत्खनन् अनुमति दिएको छ, बिक्रीको अनुमति दिएको छ, भ्याटबापत एक वर्षमा करमात्रै २९ लाख रूपैयाँ बुझाएका छौं, सबै नियममा नै सञ्चालन हुँदा पनि किन प्रहरी र जिसस प्रमुखलाई पैसा बुझाउनु पर्‍यो?’ उत्खनन् र बिक्रीको अनुमति पाएका ठेकेदार कम्पनीका ठाकुरध्वज खड्काले प्रश्न गरे ।

जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठसँग चाबी माग्न जाँदा नदिएको ठेकेदार कम्पनीका प्रतिनिधिहरूले जानकारी दिए । आफूसँग भेट्न आएर समन्वय नगरे फागुन ८ देखि सबै बन्द गरिदिने धम्की दिएको ठेकेदारहरूले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी राणाले सुकुटे आसपासमा खाएको अहिले पनि लाखौं तिर्नु बाँकी रहेका होटल सञ्चालकहरूले गुनासो गरेका छन् ।

‘आएर खान्छन्,तर पैसा दिँदैनन्, सरुवा भएर जान लागेछन् राम्रो भयो’, बलेफीका एक होटल सञ्चालकले एसपी राणाको सरुवा भएपछि भने ।

जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ भने स्थानीय तहले अनमुति दिएरमात्रै नदीजन्य पदार्थ निकाल्न नपाइने बताउँछन् ।

नियम नभए पनि आफूले सबैको ‘मुख’ हेरेर काम गर्न दिएकोमा सबैले हेपेपछि बाध्य भएर चाबी खोस्न लगाएको श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘म राजनीतिक गरेर खाने मान्छे होइन सर ! काम गरेर खाने मान्छे हो, यसो खुकुलो गरेको सबैले मलाई हेपे, सबै नियमसँगत रूपमा चल्नु पर्‍यो नि ! पालिकाले पनि हेपेकै छ, क्रसर सञ्चालकहरूले पनि हेपेकै छ, ठेकेदारहरूले पनि हेपेकै छ, सबैको हेपाइको लागि म जिसस प्रमुख भएको होइन ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राणासँग चाबी खोसेको विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको क्रसर व्यावसायीहरूसँग राम्रो उठबस रहेको र समन्वय नगर्ने क्रसर व्यवसायीहरूलाई भने श्रेष्ठले दुःख दिने गरेको क्रसर सञ्चालकहरूले बताए ।

हेर्नुस् बाह्रविसे नगरपालिकाले नदीजन्य पदार्थ संकलन, उत्खनन्‌लगायतमा क्रसव व्यवसायीसँग गरेको सम्झौतापत्र र कार्यदेशको पत्र

  


प्रतिक्रिया

One thought on “सरुवा भएर जाँदाजाँदै सिन्धुपाल्चोकका एसपी राणा विवादमा, पैसा नदिएपछि क्रसरको चाबी खोसेको आरोप

  1. याे मादर्चाेद जि स स लाई तात्कालै बर्खास्त गर्नुपर्छ र कानुनकाे कुन धारा लागउन सकिन्छ लगाउनुपर्छ । यिनलाई नजराना ( भेटी ) चढाउनु पर्ने रे 😡😡😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर