नेकपा एसको महाधिवेशनलाई कम्युनिष्ट आन्दोलनको कोसेढुंगा बनाउनुपर्छ : झलनाथ खनाल – Nepal Press

नेकपा एसको महाधिवेशनलाई कम्युनिष्ट आन्दोलनको कोसेढुंगा बनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादले मुलुकलाई हर प्रकारले स्वतन्त्र, सार्वभौमिकता सम्पन्न र स्वाधीन बनाउँदै आत्मनिर्भरता तिर लाने भएकाले जबजको अर्थ नभएको टिप्पणी गरेका छन् ।

‘समाजवाद र अबको बाटो’ विषयक कार्यक्रम बोल्दै उनले दलाल पूँजीवादले मुलुकलाई अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादको पक्षधर बनाउँदै लाँदा मुलुकको राष्ट्रियता नै ध्वस्त हुने जिकिर गरे ।

उनले भने, ‘हो यही हो- सुखी नेपाली, समृद्ध नेपालको बाटो । यही हो नेपाली विशेषताको समाजवाद । यो समाजवादको कुनै विकल्प छैन । आज दलाल पुँजीवादको नेतृत्वमा भएको बहुदलीय जनवाद दिन प्रति दिन संकटग्रस्त आफैं बन्दैछ । बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद हो । त्यसले नेपाल र नेपाली जनताका आधारभूत समस्या समाधान गर्न सम्भव छैन । ती समस्याहरूको समाधानका निम्ति हामीले आजैदेखि समाजवाद प्राप्तिका निम्ति जनताको तत्कालिक र दीर्घकालीन समस्यालाई लिएर संघर्षमा अघि बढ्नु अनिवार्य छ ।’

पूँजीवादी-जनवादी क्रान्तिले अहिले मुलुकमा दलाल पूँजीवादको नेतृत्वमा बहुदलीय जनवादको सत्ता कायम गरेको छ र आम जनतामाथि हर प्रकारको शोषण, उत्पीडन, अन्याय र अत्याचार थोपरिरहेको बताए ।

उनले भने, ‘आजको बहुदलीय लोकतन्त्र आम जनताको लोकतन्त्र होइन दलाल पूँजीवादको लोकतन्त्र बनेको छ । समाजवादले यो दलाल पूँजीवादको पूँजीवादी अधिनायकत्वलाई समाप्त पार्छ र यसैमाथि टेकेर श्रमजीवि वर्गको नेतृत्वमा आम जनताको लोकतन्त्र समाजवादी लोकतन्त्रको स्थापना गर्नेछ ।’

साम्राज्यवादीहरूको बढ्दो घुसपैठ र नेपाली कम्युनिष्ट आन्दोलनलाई दीर्घकालीन हिसाबले विभाजन गर्ने षड्यन्त्रले मुलुकको दक्षिणपन्थी शक्तिहरू वामपन्थीहरूलाई विभाजित गरेर आफ्नो स्थिति बलियो बनाउन सबै शक्ति लगाइरहेको उनको टिप्पणी छ ।

कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै पार्टीको राष्ट्रिय महाअधिवेशन पुनर्गठन, एकता र प्रगतिको महाधिवेशन बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले पार्टीको आगामी महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनमा नै कोसेढुङ्गा बन्नुपर्ने जिकिर गरेका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई व्यापक बहस, रूपान्तरण, पुनर्गठन, एकता र प्रगतितिर उन्मुख पार्नुपर्ने बताउँदै ८० को दशकलाई पुनर्गठन, एकता र प्रगतिको दशक बनाउन सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर