नगरपालिकाको बिदा वडालाई अमान्य, चौतारा साँगाचोकगढीका १४ मध्ये ८ वडा खुल्लै – Nepal Press

नगरपालिकाको बिदा वडालाई अमान्य, चौतारा साँगाचोकगढीका १४ मध्ये ८ वडा खुल्लै

सिन्धुपाल्चोक । फागुन–१ ‘जनयुद्ध’ दिवस को अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक बिदा दिइयो ।

नगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दे जनयुद्ध दिवसको अवसरमा नगरपालिका अन्तर्गतका वडा कार्यालय,शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा घोषणा गर्‍यो।

नगरपालिकाले सार्वजनिक बिदा दिए पनि नगरपालिका अन्त्रगतको चौतारा साँगाचोकगढी नगरपालिका–१० नम्बर वडाले भने फागुन १ गते कुनै बिदा नभएको सूचना जारी गरेको छ ।

वडा नम्बर १० ले मात्रै होइन नगरपालिका अन्त्रगतका १४ वडा मध्ये आठ वडामा बिदाको कार्यान्वयन भएको छैन भने ६ वडाले मात्रै सार्वजनिक बिदा दिएका छन् ।

नगरपालिकाको १४ वडा मध्ये २, ३, ५, ७, ८, ९, १० र १४ वडा खुला रहेको छ भने अन्य वडाहरू भने बिदा भएका छन् । नगरपालिका बिदा भए पनि वडा नम्बर–५ का अध्यक्ष शिव श्रेष्ठ भने वडा कार्यालयमा सेवाग्राहीहरूको काम गरिरहेका छन् ।

‘माथिल्लो निकायले नै बिदा छैन भनेर भनेपछि हामीले त्यसको कार्यान्वयन गरेका हौँ’, अध्यक्ष श्रेष्ठले भने ।

वडा नम्बर १० का अध्यक्ष नीलबहादुर तामाङले पनि नगरपालिका भन्दा माथिल्लो निकायले बिदा छैन भनेपछि आफूहरूले वडा कार्यालय खुला गरेर जनतालाई सेवा दिएको बताए ।

१० नम्बर वडा कार्यालयले ‘सर्वोच्च अदालतको फैसला तथा गृह मन्त्रालयको सूचनालाई पालना गर्दै हाम्रो वडाका सम्पूर्ण सरकारी संस्थाहरू,वडा कार्यालय विद्यालय स्वास्थ्य संस्था खुला गरी नियमित सेवा प्रदान गर्नुहुन सबैलाई जानकारी गराइन्छ वडा कार्यालयले जारी गरेको’ सूचनामा भनिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका कृष्णप्रसाद सापकोटाले जितेका छन् भने वडा नम्बर १० मा कांग्रेस नेता नीलबहादुर लामा ले चुनाव जितेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकामा कांग्रेस र एमालेले चुनाव जितेका वडाहरूमा नगरपालिकाले सार्वजनिक बिदा दिए पनि त्यसको कार्यान्वयन भएको छैन भने माओवादीले जितेका वडाहरूमा भने बिदा कार्यान्वयन गरिएको छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय सरकार मध्ये दुई स्थानीय सरकारले फागुन १ मा सार्वजनिक बिदा दिएका छन् भने अन्य नौ स्थानीय सरकार खुला रहेका छ ।

लिसंखु पाखर गाउँपालिकामा फागुन १ मा सार्वजनिक बिदा दिए पनि छिमेकी पालिका सुनकोशी भने खुला नै रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर