मेडिकल काउन्सिललाई सांसद श्रेष्ठको प्रश्न- गंगालालका ती ४ बिरामीको मृत्युलाई सहज मानिएको हो ? – Nepal Press

मेडिकल काउन्सिललाई सांसद श्रेष्ठको प्रश्न- गंगालालका ती ४ बिरामीको मृत्युलाई सहज मानिएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्दै चिकित्सकको लापरवाहीका कारण चारजना विरामीको अकाल मृत्युलगायतका विषयमा जानकारी माग गरेकी छन् ।

श्रेष्ठले बुधबार मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाललाई लेखेको पत्र सार्वजनिक गर्दै लिंगभेदी भ्रुणहत्या, अस्पतालहरूमा बिरामीको मृत्युपश्चात कारण खोज्ने प्रक्रिया र बिरामी पक्ष तथा स्वास्थ्य संस्थाबीच विवाद हुँदा लापरवाही भए नभएको निर्क्यौल गर्ने विषयमा जानकारी मागेकी हुन् ।

सांसद श्रेष्ठले गंगालाल हृदय केन्द्रका चिकित्सक डा. रामेश कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेको एक चिकित्सकले शल्यक्रिया गरेका चारैजना बिरामीको मृत्युलाई आफूहरूले सहज मानिदिएको भन्दै उनको लापरवाहीप्रति तत्कालीन अस्पताल प्रशासन र विभागीय प्रमुखले उन्मुक्ति दिएको आशय व्यक्त गरेको सन्दर्भ समेत पत्रमा उल्लेख गरेकी छन् ।

डा. कोइरालाले सन् २००२ मा गंगालको सर्जरी विभागको प्रमुख आफू भएका बेलामा डा. मलख श्रेष्ठ गंगालालमा आउँदा स्वागत गरेको र उनले अप्रेसन गरेका चारैजना बिरामीको मृत्यु सहज मानिदिएको उल्लेख गरेका छन् । ती चार बिरामीको मृत्यु सहज मानिदिएको भन्ने विषय गम्भीर र संवेदनशील रहे पनि सबै मौन रहँदा सांसद श्रेष्ठले प्रश्न उठाएकी हुन् ।

सांसद श्रेष्ठले यसबारेमा मेडिकल काउन्सिलसँग जानकारी माग्दै नेपालका अस्पतालहरूमा बिरामीको मृत्युपश्चात कारण खोज्ने प्रक्रिया को हो भनेर प्रश्न समेत गरेकी छन् ।

उनको प्रश्न छ, ‘के यहाँ भनिएका चार मृत्युलाई साँच्चै नै सहज नै मानिएको हो ? अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुर्‍याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ, पनि प्रष्ट पार्न अनुरोध छ ।’

सांसद श्रेष्ठले आफ्नो पत्रसँगै डा. कोइरालाको ट्वीटको स्क्रिनसट समेत समावेश गरेकी छन् । कोइराला गंगालालको कार्यकारी निर्देशकको दौडमा थिए । तर डा.र वि मल्ल सो पदमा नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर