बढ्दै स्क्रब टाइफसका बिरामी : के-के छन् लक्षण, कसरी बच्ने ? – Nepal Press

बढ्दै स्क्रब टाइफसका बिरामी : के-के छन् लक्षण, कसरी बच्ने ?

यस वर्ष पनि नेपालका विभिन्न ठाउँमा स्क्रब टाइफसका बिरामी देखा परेका छन् । चितवनका अस्पतालका बिरामीमध्ये स्क्रब टाइफसबाट चारजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी बालबालिका उपचारका लागि अस्पताल आउने क्रम बढेको पनि मिडियाहरूमा आएको छ ।

नेपालमा आर्थिक वर्ष २०७७/७८ मा एक हजार सात सय ७३ जनामा स्क्रब टाइफस पुष्टि भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा संक्रमित बिरामीको संख्या वृद्धि भई दुई हजार चार सय ७४ पुगेको थियो । सुदूरपश्चिम प्रदेशमा भदौ र असोज महिनामा मात्रै एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिए । सोही समयमा बैतडी जिल्लामा स्क्रब टाइफस संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको थियो ।

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस ब्याक्टेरियाको कारणले हुने संक्रामक रोग हो । स्क्रब टाइफस ‘ओरेन्टिया सुसुगामुसी’ नामक जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाईबाट मानिसमा सर्छ । समयमै उपचार नगरे यसले गम्भीर रूप लिन सक्छ, जस्तै मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण र कहिलेकाहीँ बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ ।

किर्ना, जसलाई चिगर्स पनि भनिन्छ जुन ०.१५-०.३ मिमि लम्बाइमात्र हुने भएकोले धेरै सानो हुन्छ र यसलाई माइक्रोस्कोप वा म्याग्निफाइङ्ग ग्लास मार्फत मात्र देख्न सकिन्छ ।

किर्नाको टोकाइले देखिन सक्ने रातो दाग पछि कालो दागको रूपमा रहन सक्छ जुन स्क्रब टाइफस निदान गर्ने धेरै लक्षणमध्ये एक हो । स्क्रब टाइफस मानिसबाट मानिसमा भने सर्दैन । मुसा वा अन्य जीवजन्तुमा हुने किर्ना अर्थात् माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको घास, झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

लक्षणहरू के के हुन् ?

  • उच्च ज्वरो आउनु (१०४ डिग्री फरेन्हाइटभन्दा बढी )। काम ज्वरो पनि आउन सक्छ
  • धेरै टाउको दुख्नु
  • अत्यधिक पसिना आउनु
  • जोर्नी र मांसपेशी दुख्नु
  • खोकी, बान्ता, पेट दुखाइ
  • आँखा रातो हुनु, पखालाले सताउनु
  • किर्नाले टोकेको ठाउमा कहिलेकाहिँ कालो दाग देखिनु
  • बिमिरा देखिनु, सास फेर्न समस्या हुनु

 

गम्भीर रोग भएका व्यक्तिहरूलाई स्क्रब टाइफस लागेमा अंग विफलता र रक्तस्राव हुन सक्छ, जुन उपचार नगरेमा घातक हुन सक्छ । स्क्रब टाइफसका लक्षण सामान्यतया संक्रमित किर्नाले टोकेको १० देखि १२ दिनभित्र सुरू हुन्छ । स्क्रब टाइफसका लक्षणहरू अन्य धेरै रोगका लक्षणहरू जस्तै हुन्छन् । त्यसैले स्क्रब टाइफस फेला परेको क्षेत्रमा समय बिताए पछी माथि उल्लेखित लक्षणहरू देखा परेमा नजिकैको स्वास्थ्य संस्था जानु पर्छ वा स्वास्थ्य सेवा प्रदायकबाट सल्लाह लिनु पर्दछ । शरीरमा दाग देखियो र अत्यधिक ज्वरो आउने भयो भने स्क्रब टाइफसको सम्भावना धेरै हुन्छ ।

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । यसको उपचार पनि सामान्य छ । सामान्य एन्टिबायोटिक खायो भने ठीक हुनसक्छ तर केही गरी यसको परीक्षणमा ढिलो भयो भने मृत्युसमेत हुनसक्छ ।

बच्ने उपाय के-के हुन् ?

स्क्रब टाइफसबाट बच्नको लागि हालसम्म कुनै खोप उपलब्ध नभएता पनि निम्न उपाय अपनाउन सकिन्छ:

• खेतबारीमा काम गर्दा, वनजंगल वा अन्यत्र घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भए सम्म बुट (जुत्ता) लगाउने र खुला भागमा किटनाशक मलमको प्रयोग गर्ने
• सकेसम्म घाँस वा चउरमा नबस्ने यदि घाँस वा चउरमा बस्नु परेमा गुन्द्री वा दरी ओछ्याएर मात्रै बस्ने
• सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने, बस्ने्
• घर वरिपरिका खेतबारी र चउरमा झाडी, घाँस तथा धुरान बढ्न नदिने र वातावरण सफा राख्ने
• मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने ।

रोगको वितरण, स्वास्थ्य स्थितिमा नयाँ र परिवर्तनशील प्रवृत्तिहरूको बारेमा जानकारी, रोगको उपस्थिति साथै अस्वस्थ-स्वास्थ्यका अन्य अवस्थाहरू बारे निर्धारण गर्ने कारकहरूको निरन्तर जाँच गर्ने स्क्रब टाइफसको नेसनल सर्भिलेन्स सिस्टम नेपालमा अझै स्थापित भइसकेको छैन जुन स्क्रब टाइफसको निदान, उपचार र रोकथामको लागि चुनौतिको रुपमा रहेको स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०७८/७९ मा उल्लेख गरिएको छ ।

नेपालमा स्क्रब टाइफसको नियन्त्रणका लागि प्रारम्भिक प्रकोप पत्ता लगाउन, उपचार र रोकथामका उपायहरू तत्काल अबलम्बन गर्न र उचित रेकर्डिङ र रिपोर्टिङका लागि नेसनल सर्भिलेन्स सिस्टमलाई बलियो बनाउनु महत्त्वपूर्ण रेहको नेपालमा गरियका बिभिन्न अनुसन्धानले निष्कर्ष निकालेका छन् । साथै स्क्रब टाइफसको समयमै निदान र व्यवस्थापनमा स्वास्थ्यकर्मीहरूको क्षमता सुदृढ गर्नु र जनचेतना जगाउनु विशेषगरी ध्यान दिनुपर्ने क्षेत्र रहेको समेत औलाएका छन् ।

(लेखक पौडेल जनस्वास्थ्यकर्मी हुन्)


प्रतिक्रिया

One thought on “बढ्दै स्क्रब टाइफसका बिरामी : के-के छन् लक्षण, कसरी बच्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर