नवलपरासीको रामग्राममा संचालित औषधी पसल र प्रयोगशालामा सिल – Nepal Press

नवलपरासीको रामग्राममा संचालित औषधी पसल र प्रयोगशालामा सिल

रुपन्देही । पश्चिम नवलपरासीमा एक औषधी पसल र एक प्रयोगशालालाई रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले सिल गरेको छ ।

नगरमा अवैधरुपमा एक औषधी पसल र एक प्रयोगशाला संचालन गरेको पाइएकोले नगरस्तरीय अनुगमन समितिले औषधी पसल र प्रयोगशालामा सिल गरेको हो ।

स्थानीयबाट व्यापक जनगुनासो आएपछि औषधी पसलहरुलाई अनुगमन गरिएको रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम् कार्यबाहक नगरप्रमुख सम्झना चौधरीले जानकारी दिइन् ।

अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा कुनै पनि निकायमा दर्ता नभएको गुप्ता मेडिकल हललाई शील गरिएको र सोही वडास्थित पटखौलीमा रहेको सेलिसा फर्माद्वारा संचालित प्रयोगशाला कुनै पनि निकायमा दर्ता नगरी अवैध रूपमा संचालन गरेको पाइएकोले प्रयोगशाला शील गरिएको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम् कार्यबाहक नगरप्रमुख चौधरीले जानकारी दिइन् ।

अनुगमन समितिले जिल्लाको सदरमुकाम बुद्धचोक क्षेत्रमा रहेको औषधी पसल र रामग्राम नगरपालिकाको ग्रामीण क्षेत्रमा रहेको औषधी पसलमा अनुगमन गरिएको चौधरीले बताइन्। अनुगमनको क्रममा परासी सदरमुकाम रहेका केही औषधी पसलहरुले सेवाग्राहीसँग औषधीको मूल्यभन्दा चार गुणा बढी शुल्क लिएकोे पाइएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख ओमप्रकाश पन्थीले बताए ।

औषधी व्यवास्था विभागबाट दर्ता भई फार्मेसी संचालन रहेको तर तोकिएको उक्त व्यक्ति नभेटिएको र अधिकांश औषधी पसलहरुमा कागजातमा तोकिएको फार्मासिष्ट कागजमा मात्र सीमित नामको लागि मात्रै राखिएको देखिएकोले तुरुन्त तोकिएको व्यक्तिको उपस्थितमा फार्मेसी संचालन गर्न निर्देशन दिएको पन्थीले बताए ।

मापदण्ड विपरीत प्रयोगशाला संचालन रहेको अझै त्यसमा पनि प्रयोगशालामा मूल्यसूची नराखेको अनुगमनको क्रममा भेटिएको रामग्राम नागरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।

अनुगमनको क्रममा औषधी व्यवस्था विभागमा दर्ता नभएको साथै म्याद गुज्रेएको औषधी बिक्री वितरण गरेको पाइएकोले उक्त औषधीहरु नियन्त्रणमा लिई जफत गरिएको र औषधी पसलहरु फोहोर व्यवास्थापन नगरेको देखिएकोले तुरुन्त फोहोर व्यवस्थापन गर्न निर्देशन दिइएको जनस्वास्थ्य निरीक्षक हरिजनले बताए ।

जिल्लाको सदरमुकाम बुद्धचोकमा रहेको जयसवाल साई स्वास्थ्य पोलिक्लिनिक प्रालि, भैरव फार्मेसी, समिता मेडिकल हलर परासी मेडिकल हल तथा रामग्राम नगरपालिकाको ग्रामीण क्षेत्रमा रहेको सेलिसा फर्मा र गुप्ता मेडिकल हल गरी ६ वटा औषधी पसलमा अनुगमन गरिएको नगरस्तरीय अनुगमन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर