‘सुपुदर्गी समस्या अन्त्य गर्न’ रुसी फौजमा काम गरेका विदेशीलाई रुसले पासपोर्ट दिने – Nepal Press

‘सुपुदर्गी समस्या अन्त्य गर्न’ रुसी फौजमा काम गरेका विदेशीलाई रुसले पासपोर्ट दिने

काठमाडौं । रुसले रुसी फौजमा काम गरेका विदेशीहरुलाई रुसको पासपोर्ट दिने भएको छ । विहीबार रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले एक ‘डिक्री’ जारी गरेर यस्ता निर्णय गरेका हुन् ।

रुसी फौजमा काम गरेका विदेशीहरुको सुपुदर्गी समस्या अन्त्य गर्न यस्तो गरिएको बताइएको छ । रुसी सदनको सूचना नीतिका सदस्य अलेक्जेन्डर किन्टिनले रुसी फौजमा आएका विदेशीहरुलाई उनीहरुको देश फिर्ता गर्ने क्रममा आउने जटिलता अन्त्य गर्न यो सहज बाटो भएको बताएका छन् ।

उनले आफ्नो टेलिग्राममा लेखेका छन्, ‘रुसी फौजमा काम गरेर आफ्नो देश फर्किएका विदेशीहरुलाई उनीहरुको देशमा हुने सजाय यसले अन्त्य गर्नेछ । रुसले आफ्ना नागरिकलाई सपुदर्गी गर्दैन ।’

रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार रुसी सेनामा स्वयंसेवक भएका तथा रुसी शसस्त्र बलमा काम गरेका सबै विदेशीहरुलाई लक्षित गरेर यो नियम ल्याइएको हो । नयाँ नियम अनुसार पासपोर्ट पाउने सदस्यका परिवारले पनि रुसी नागरिकता पाउनेछन् ।

रुसी फौजमा युद्ध लड्दा घाइते भएका,उमेर पुगेर बाहिरिएका देखि सम्झौता सकिएका सबैमा यो नियम लागु हुने आरटीले क्रेमलिन स्रोतलाई उदृत गरेर उल्लेख गरेको छ । सन २०२२ नोभेम्बर देखि रुसले आफ्ना फौजमा विदेशीहरु लिन थालेको हो ।

यद्यपि, त्यो समयमा रुसी फौजमा काम गरेका युवाहरुलाई एक वर्षपछि नागरिकता दिने नियम ल्याइएको थियो । बिहिबारको नयाँ नियमले त्यसलाई अझ सजिलो बनाएको छ । नेपालका सयौँ युवाहरु रुसी फौजमा काम गरिरहेका छन् । दश युवाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी फौजमा २०० बढी नेपाली युवाहरु भएको सार्वजनिक रुपमा बताएका थिए । रुसको नयाँ नीतिले ती नेपालीहरुमा प्रत्यक्ष असर पर्नेछ । रुसी फौजमा काम गरेर घाइते भएका एक नेपाली युवाले यो नीतिले सहज भएको बताए । उनले भने, ‘नेपाल आएर अलपत्र पर्नु भन्दा रुसले नागरिकता र पासपोर्ट दिएमा सजिलो हुन्छ ।’

आरटीका अनुसार गत महिना रुसी विदेशमन्त्री सेर्गि सोउगुले रुसी फौजमा भर्ना हुने विदेशी स्वयंसेवकहरुको संख्या सात गुणाले बढेको बताएका थिए । तर, उनले कत्ति संख्यामा भनेर खुलाउन चाहेनन् । रुसले युक्रेनको विदेशी फौजको तथ्यांक भने साढे १३ हजार विदेशी भएको भन्दै त्यसमा छ हजारको मृत्यु तथा छ हजार भागेको दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *