गोरखापत्रले नदेखेको बालकुमारीमा ढालिएका दुई बेरोजगार युवा ! – Nepal Press
ब्लग

गोरखापत्रले नदेखेको बालकुमारीमा ढालिएका दुई बेरोजगार युवा !

१२२ वर्ष अघि बि.स. १९५८ वैशाख ११ गते गोरखापत्र प्रकाशन सुरु हुन १३ दिनअघि गोरखापत्रमा के छाप्न हुने के नहुने सनद जारी गरिएको थियो । छाप्न नहुने विषयमा ‘हाम्रा तारिफका कुरा नछाप्नु’ भनेर प्रष्ट उल्लेख गरिएको थियो । जहानियाँ राणा शासक देव शमशेरले जारी गरेको सनदमा उल्लेख भएको ‘हाम्रा तारिफका कुरा नछाप्नु’ भन्ने वाक्य गोरखापत्रमा कार्यान्वयन भइदिएको भए गोरखापत्र शासकको होइन जनताको पत्रिका बन्थ्यो ।

गोरखापत्र १२२ वर्ष लामो इतिहास बोकेको नेपालको एक मात्र समाचारपत्र हो । देव शमशेरले सनदमा उल्लेख गरेको ‘हाम्रा तारिफका कुरा नछाप्नु’ भन्ने कुरा मात्र पनि सरकारमा पुग्नेहरू र गोरखापत्रका विभिन्न पदमा पुग्नेहरूले बुझेर कार्यान्वयनमा ल्याइदिएको भए आज यो पत्रिकाले सामाजिक सञ्जाल भरी यति आलोचना भोग्नुपर्ने थिएन ।

यो पत्रिकाको आजको अंकको पहिलो पृष्ठले सरकार देख्यो, मन्त्री देख्यो, सरकारमा रहेको राजनीतिक दल देख्यो तर राजधानीको बालकुमारीमै गोली लागेर दुई दुई जना जनता मारिएको देख्दै देखेन । प्रथम पृष्ठमा सो समाचारले प्राथमिकता पाएन । ऐतिहासिक पत्रिका गोरखापत्रको सरकारमा पुगेका राजनीतिक दलले कसरी हुर्मत लिइरहेका छन् भन्ने आजको यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो ।

गोरखापत्रको ऐतिहासिक महत्वका कुरा गर्दा यो पत्रिका नेपाली पत्रकारिता क्षेत्रको ज्यूँदो इतिहास हो । १२२ वर्ष देखि कुनै पत्रिका निरन्तर प्रकाशित भइरहनु चानचुने कुरा होइन । गोरखापत्रभन्दा अगाडी प्रकाशित भएका दुई पत्रिकाहरू गोरखा भारत जीवन र सुधा सागरका कुनै प्रतिहरू भेटिँदैनन । तर गोरखापत्रको निरन्तर प्रकाशनले नेपाली पत्रकारितामा यसले स्पष्ट इतिहास राख्न सफल भएको छ । गोरखापत्रमा काम गरेर हजारौँ पत्रकार उत्पादन भएका छन् । गोरखापत्र पत्रकार उत्पादन गर्ने साझा पाठशाला पनि हो । गोरखापत्र प्रकाशित हुन थालेको लामो समयसम्म पनि पत्रिका भनेकै गोरखापत्र हो भन्ने मानक यो पत्रिकाले स्थापित गरेकै हो ।

गोरखापत्रको सुरुवात र त्यसपछिका ५० वर्ष सम्म त सूचना सम्प्रेषणको एक मात्र विकल्प गोरखापत्र नै थियो । सुनदेखि नुनसम्मका सूचना यसै पत्रिकामा आउँथ्यो । यो ब्लग पढिरहेका तपाई धेरैले एसएलसीको परिणाम गोरखापत्रबाटै थाहा पाउनुभएको हो । भाषा सम्बन्धी मानकका रूपमा गोरखापत्रलाई हिजोसम्म पनि लिइन्थ्यो । कतै शुद्धाशुद्धि नमिले गोरखापत्र हेर्नु भनिन्थ्यो ।

गोरखापत्र विभिन्न भाषाभाषीका भावना मुखरित गर्ने पत्रिका पनि हो । एक शताब्दी लामो जीवन्त इतिहास हो गोरखापत्र । यस्तो ऐतिहासिकता बोकेको पत्रिकालाई सरकार र सरकारमा रहेका दलहरूको रोल क्रम मिलाएर प्रसस्ती गाउन मै प्रयोग गरिनु दुःखद र खेदजनक विषय हो ।

गोरखापत्र दैनिक सय वर्ष भन्दा लामो इतिहास बोकेको नेपालको समाचार पत्रमा पहिलो हो । दक्षिण एसियामै सय वर्ष भन्दा अघिदेखि पत्रिका प्रकाशन गर्ने देश नेपाल पनि हो र त्यो पत्रिका गोरखापत्र हो भन्दा हामी नेपाली गर्व गर्छौ । तर गोरखापत्रलाई शासक वर्गले आफ्नो प्रसस्ती छाप्न मै प्रयोग गरेर ऐतिहासिक महत्त्व बोकेको पत्रिकाको हुर्मत लिँदै आएका छन् ।

शासक वर्गहरूले बुझ्नु पर्‍यो समय धेरै परिवर्तन भइसकेको छ । अब गोरखापत्र र अन्य सरकारी मुखपत्रहरुले तिम्रा प्रसस्ती गाउँदैमा जनताले पत्याइ हाल्छन् भन्ने तिम्रा सङ्कुचित धारणा निकालेर फ्याँकिदिए हुन्छ । अब जनताले सूचना लिएर धारणा बनाउनका लागि आमसञ्चारका प्रशस्तै साधनहरू छन् । तर गोरखापत्र देशकै ऐतिहासिक जनताले माया गरेको पत्रिका हो ।

सरकार, गोरखापत्र तिम्रो मात्र पत्रिका होइन, यो जनताको पत्रिका हो । यसमा छापिएका अक्षर अक्षरमा जनताको पसिना पनि छ । त्यसैले गोरखापत्रलाई जनताको हुन देऊ । जहानियाँ राणा शासक भन्दा निरङ्कुश नबन । १२२ वर्षअघि राणा शासक देवशम्शेरले सनद जारी गरी भनेको कुरा ‘हाम्रा तारिफका कुरा नछाप्नु’ किन भने होलान् एक पटक होइन पटक पटक मनन गर । गोरखापत्रलगायत सरकारी सञ्चार माध्यमलाई सरकारको होइन राष्ट्रको सञ्चार माध्यम बनाऊ ।

पत्रकारिता सत्ताको भक्ति होइन, पत्रकारिता यस्तो पेशा हो जसले तिमी जे लुकाउन खोज्छौ, त्यो समाचार बन्छ । सत्तामा बसेका कम्युनिष्टहरुले आफू कम्युनिष्ट हुँ भनेर रटान रटेर कम्युनिष्ट बनिने होइन । कम्युनिष्ट हुन कम्युनिष्ट आचरण चाहिन्छ ।

कुनै बेला कम्युनिस्ट नेता भ्लादिमिर लेनिनले आफ्नो सरकार जनताप्रति कति प्रतिबद्ध छ भन्ने कुरा पोलिटब्युरोका सदस्यले राखेको तर्कका आधारमा नभई प्रतिपक्षले गरेका प्रश्नका आधारमा हुनुपर्छ भनेका थिए । त्यसैले जनताप्रति प्रतिबद्ध हुने हो भने प्रतिपक्षका कुरा सुन । जनताका कुरा सुन, जनताका सुख, दुःख थाहा पाउ । त्यसका लागि गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यमहरूलाई सत्ताको र सत्तारुढ दलको रोल क्रम अनुसार भक्ति गान गाउन नलगाऊ ।


प्रतिक्रिया

One thought on “गोरखापत्रले नदेखेको बालकुमारीमा ढालिएका दुई बेरोजगार युवा !

  1. लिलाजी, देवसमसेर ब्रो त जहानीयाँ राणा शासक थिए र आफ्नो तारिफ नलेख्न भने! त्यो पुरानो कुरो भयो, पुरानो अर्थात पछाडिको कुरो। पछाडितर्फ जानु “पश्चगमन” हो, हाम्रो महान तथा गौरवसाली सुप्रिमो कँ’ण त “खरान्तिकारी” र अग्रगामी हो, अग्रगमनमा यस्तै गर्नुपर्छ भनेर तोक्ने पनि त हाम्रै कँण हो नि। त्यसैले देवसमसेरको बाटोमा हिड्न मिल्दैन, देवपथमा हिड्न नमिलेरै प्रचन्डपथ बनाएको हो। राणा भनेको राणा हो, हाम्रो कँण दाहाल हो, राणा भन्दा दाहाल क्रान्तिकारी हुन्छ। कामले मुल्याङ्कन गर्दा राणाशासक भन्दा दाहालशासन कतिपय कुरामा खराव देखिए पनि बोल्न हुदैन। प्रतिगमन हुन्छ, हिजो गिरीजा बाबुले शिसुपर्जातन्त्र भन्नुहुन्थ्यो। यो शिसुगनतन्त्र हो, त्यसैले गन चलाउन परो । गन चल्दा युवा मरे। कसले बिदेश नगएर बस्न भनेको थियो ती मर्ने युबालाई। थुपुक्क चुपचाप बिदेश गएको भए ज्यान जोगिन्थ्यो। त्यसैले लिलाजी तपै नि चुप लागानुस् नत्र…!
    😁😁😁

Leave a Reply

Your email address will not be published. Required fields are marked *