अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा जानकी मन्दिरबाट कोसेली जादैन: महन्त दास – Nepal Press

अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा जानकी मन्दिरबाट कोसेली जादैन: महन्त दास

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा पर्ने अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर नजाने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले बताएका छन् ।

जानकी मन्दिरकै सहायक महन्त रामरोषण दासले दुई दिन अगाडि पत्रकार सम्मेलन गरी राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने बताएका थिए । उनले कोसेली व्यवस्थापनका लागि ११ सय सदस्यीय समिति समेत बनाएको बताएका थिए ।

उनले दिएको जानकारी अनुसार समितिको संरक्षकमा मुख्य महन्त रामतपेश्वर र जनकपुरधामका नगर प्रमुख मनोज साह छन् । तर मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने विषयमा आफूलाई जानकारी नभएको दावी गरे ।

उनले भने, ुराम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव छैन् । रामरोषण मेरै शिष्य हो । तर उनले कसरी कोसेली लिएर जाने कुरा गर्यो मलाई थाहा छैन् । जानकी मन्दिरबाट कोसेली जादैन् । सम्भव पनि छैन् ।ु

मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुने भएकाले कोसेली लिएर गएपनि कुनै वास्ता नगर्ने बताए । उनले भने, ुकोसेली लिएर नजान पनि भन्दिनँ । यदि जान्छ भने उसैले जानोस् ।ु

जानकी मन्दिरको मुख्य महन्त रामतपेश्वर रहे पनि मन्दिरको प्रायः हरेक काम सहायक महन्त रामरोषणले नै गर्छन् । तर राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउने विषयमा मुख्य महन्त र सहायक महन्तबीच विवाद देखिएको छ ।

लामो संघर्षपछि अयोध्यामा भगवान श्रीरामको विशाल मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ अर्थात् माघ ८ मा हुँदैछ ।

जनकपुरधाम भगवान श्रीरामको ससुराल र माती जानकीको जन्मभूमि रहेकाले यहाँबाट प्राण प्रतिष्ठामा कोसेली लिएर जाने जानकी मन्दिरका सहायक महन्त रामरोषणको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *