कम्युनिष्ट नेताकाे पश्चगामी छलाङ ! सन्तानको भड्किलो विवाह – Nepal Press

कम्युनिष्ट नेताकाे पश्चगामी छलाङ ! सन्तानको भड्किलो विवाह

काठमाण्डाैं । केही दिनअघि रुस-युक्रेन युद्धमा बन्दुक उठाइरहेका माओवादीका पूर्वलडाकु म्याग्दीका डाइमण्डले झण्डै १ दशक बन्दुक बोकेर युद्धमा होमिए पनि दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न नसकिएको दुःखेको फेसबुकमार्फत पोखेका थिए । यता नेपालमा उनै डाइमन्डका ‘सुप्रिमो’ र सर्वहारा क्रान्तिका ‘नायक’ प्रधानमन्त्री प्रचण्डले नातिनीको तामझामपूर्ण विवाहमार्फत पूँजीवादी कित्तामा ‘पश्चगामी छलाङ मारेको’ चर्चा भइरहेको छ ।

न स्पष्ट आयस्रोत न त देखिने सम्पत्ति । तर, गोकर्ण रिसोर्टमा मंसिर २९ गते प्रचण्डकी नातिनी तथा भरतपुर महानगरकी मेयर रेणु दाहालकी छोरी प्रतिभा पाठक र गोरखाका विज्ञानराज रेग्मीको विवाह अर्बपति व्यापारीका सन्तानको झैं तडकभडकपूर्ण थियो । २ हजारभन्दा बढी अतिथिलाई प्रतिप्लेट ६ हजार रुपैयाँको खाना खुवाइएको चर्चा चलिरहेको छ ।

बुझिएअनुसार एक हजार जनालाई वैवाहिक समारोहमा निम्ता दिइएको थियो । तर, ती निमन्त्रणा कार्ड पाउनेहरुको सूचीमा प्रचण्डलाई जनयुद्धमा साथ दिनेहरु थिएनन् । कुनै समय झोलामा बारुद र हातमा ग्रिनेड लिएर हिँडेका पूर्वजनमुक्ति सेना थिएनन् । थिए त ठूला घरानाका व्यापारी, नेता, सेलिब्रिटी र अन्य सम्भ्रान्त वर्गका सदस्य ।

कुनै पर्व जसरी रिसोर्टमा मनाइएको प्रधानमन्त्रीकी नातिनीको विवाहले कानूनकै धज्जी उडाएको थियो । कानूनमा विवाहको जन्ती र भोजमा ५१ जनामात्रै सहभागी गराउन मिल्ने व्यवस्था छ । तर, प्रधानमन्त्रीसमेत रहेका सुप्रिमो यस विषयमा न गम्भीर थिए न त जवाफदेही नै । पार्टीभित्र पटक पटक आफ्नो भड्किलो जीवनशैलीमाथि प्रश्न उठिरहँदा तमाम प्रश्नलाई कुल्चिएर हिँडेका सुप्रिमो नातिनीको विवाहमा निर्धक्क मुस्कान फ्याँकिरहेका थिए ।

तर, आजभन्दा ठीक १८ वर्षअघि फर्कने हो भने तिनै सुप्रिमो मुस्कुराउनुको साटो टिलपिल-टिलपिल भइरहेको दृश्य सम्झिन सकिन्छ । २०६२ साल असोजमा माओवादीको चुनबाङ बैठकमा मोहित श्रेष्ठको गीत ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन’ सुनेर उनी धरधरी रोएका थिए । प्रचण्डसँगै तत्कालीन कमाण्डरहरु बाबुराम भट्टराई, रामबहादुर थापालगायत नेताहरुको आँखा भिजेका थिए ।

गायक मोहितले गुञ्जाएको क्रान्ति गीत १८ वर्षपछि ‘डान्स नम्बर’ बन्दै गोकर्ण रिसोर्टमा भतेर खान पुग्यो । तर, मोहित, डाइमन्डहरु भने आज पनि जीवनको कठिन संघर्षकै क्रममा छन् । उनीहरुको क्रान्ति अहिलेसम्म सफल भएको छैन । पार्टी नेतृत्वले गोकर्ण रिसोर्टसम्म क्रान्तिलाई पुर्‍याउन सफल भए पनि उनीहरु अहिले पनि न्यायको प्रतीक्षामै छन् ।

युद्धकालमा माओवादीको नारा थियो, ‘बन्दुक, कलम र मादलको संयोजनबाट क्रान्ति सफल हुनेछ ।’ आज ब्याण्ड बाजा, बारात, महँगो गरगहना र भड्किलो प्रदर्शनमा आइपुगेको छ क्रान्ति । क्रान्तिको गीत गाएर सुप्रिमोलाई भावुक बनाउने मोहितहरु अहिले पनि सडकमै छन् । उनीहरु सायदै सोच्छन्, आफ्ना कोही सन्तानको विवाह गोकर्ण रिसोर्टमा भइदेओस् !

मोहितहरुमात्रै होइन, प्रचण्ड भावुक हुँदा सुरक्षाको पहरा दिएका डायमण्डहरु १८ वर्षपछि पनि रसिया-युक्रेन युद्धमा ड्रोन हमलाबाट ज्यान जोगाउन सुरक्षित बंकर खोजिरहेका छन् । बन्दुक बिसाएर दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गरिएको ठान्ने डायमण्डहरु आज दुई दशकपछि पनि लेखिरहेका छन्, ‘परिवार पाल्न नै विदेशका गल्लीगल्लीमा भौतारिनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।’ तर, प्रचण्डलाई भने आफ्नो परिवारको सान र शौकत जोगाउन गोकर्ण रिसोर्टमा भड्किलो विवाह सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।

प्रचण्डमात्रै होइन, उनीभन्दा पनि क्रान्तिकारी नेता नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाशको विवाहमा पनि पूँजीवाद हावी थियो । विप्लव पुत्रले ‘जनवादी’ विवाहपछि महँगो होटलमा पार्टी दिए । विवाह समारोहमा प्रकाश र विप्लवका भाषण क्रान्तिकारी थिए । तर, चितवनको एक महँगो पार्टी प्यालेसमा झकिझकाउ सजावटसहित औंठी साटासाट र कथित हल्दी समारोहले क्रान्तिकारितालाई पूँजीवादमा बदल्यो ।

कुनै समय उनै विप्लवका क्रान्तिकारी भाषण सुनेर युद्धमा होमिएकाहरु आज अंगभंगको अवस्थामा छन् । द्वन्द्व पीडितहरु आज पनि न्यायको आशमा माइतीघर आइपुग्छन् । सिंहदरबार छेउछाउ आइपुग्दा उनका कमाण्डरहरु भने कोही भुटानी शरणार्थी प्रकरणमा मुछिइरहेका छन् । कोही सुन तस्कारीमा जोडिइरहेका हुन्छन् । त्यसवेलाका जनमुक्ति सेना आज गोंगबु आसपासमा दोहोरीहरुमा गीत गाएर दुई छाक खान बाध्य छन् ।

उनैका कथालाई उनेर ‘पीर’ गीत ल्याउने प्रकाश सपूतलाई भने सिंगो पार्टी पंक्ति लागेर लखेट्न उद्यत हुन्छन् । अनि पार्टीलाई रुपान्तरण गर्नुपर्छ भनेर लागिपरेका माओवादीभित्रैका नेता लेखनाथ न्यौपानेहरु सञ्जालमा लेख्न बाध्य हुन्छन्, ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन ।’

गायक मोहित पनि गुनासो पोख्छन्, ‘प्रचण्ड कमरेडले आफू प्रधानमन्त्री र छोरी मेयर हो भन्नेमात्रै सोच्नुभएन । उहाँहरुको पछाडि हजारौं शहीदको आलो रगत छ । सयौं बेपत्ताको आत्मा भड्किरहेको छ । सयौं घाइतेको चित्कार गुञ्जिरहेको छ ।’

प्रचण्डको नातिनीको विवाहको हिसाबकिताब गर्नेहरुलाई मोहितको सुझाव छ, ‘प्रचण्डलाई यहाँसम्म ल्याउन हजारौंको बलिदान र लाखौं जनताको सहयोग छ । प्रचण्डलाई आदर्श मानेर कतिले ज्यान जिन्दगी गुमाए । कतिले जिन्दगी बिगारे । त्यसको लेखाजोखा गर्नुस् बरु ।’

मोहितको विश्लेषणमा हिजो जुन खालको समानताको कुरा उठाइएको थियो, त्यो सबै मुद्दालाई पार्टी नेतृत्वले पोलिखाइसक्यो । प्रधानमन्त्रीको हैसियतमा सुप्रिमोले आफूहरु जस्ता मान्छेहरुको अपेक्षा र मागहरुलाई पूरा गर्नेतिर भन्दा अन्य कुरातिर ध्यान केन्द्रित गरेको उनको गुनासो छ ।

मोहित भन्छन्, ‘माओवादी वैश्विक दृष्टिले स्खलित भइसकेको हो । नेताहरुलाई आफू कहाँ पुगेको हो भन्ने थाहा छैन । तर, वैचारिक रुपमा माओवादी सकिएको त पहिल्यै हो ।’

अनि वैवाहिक उत्सवमा रमाइरहेका प्रधानमन्त्री प्रचण्डलाई करोडौं माइल टाढाबाट डाइमण्डहरुले सम्बोधन गर्नुपर्छ, ‘परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्धा आज परिवार पाल्न नै विदेशका गल्ली गल्लीमा भौतारिनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ । यही कारण जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ ।’

प्रचण्डकी नातिनीको विवाहको दुई दिनअघि मात्र पुराना कम्युनिष्ट नेता विरोध खतिवडाले छोरी अन्माए । उनकी एकमात्र छोरी श्रृंखलाको कान्तिपुरका साहुजीसँग भएको विवाह पनि उस्तै तडकभडकपूर्ण थियो । तर, श्रृंखलाको आफ्नै नाम र प्रोफाइलका कारण विरोधको कम्युनिष्ट पृष्ठभूमितर्फ कसैको ध्यान गएन ।

कम्युनिष्टहरुको वैचारिक स्खलन : समाजशास्त्री डा .युवराज लुइँटेल

एक समय जसले जनवादी विवाहको कुरा उठाएर एक खालको अभ्यास गर्नुभयो, त्यो सायद सैद्धान्तिक कुराबाट बढी नै प्रभावित थियो । या त जुन सिद्धान्तलाई उहाँहरुले बोक्नुभएको थियो, त्यसलाई आफू स्वयंले चाहिँ व्यवहारमा उतार्न सक्छु कि सक्दिनँ भन्ने हेक्का पनि राख्नुभएन । उहाँहरु समाज परिवर्तन गर्ने भनेर हिँड्नु त भयो । तर, अन्त्यमा आफैं समाजद्वारा परिवर्तित हुनुभयो । उहाँहरुसँग समाज परिवर्तन गर्ने सामर्थ्य नै थिएनछ ।

यसरी कठोर समीक्षा गरिनु भनेको उहाँहरुमा आएको विचारको स्खलन हो । नेतृत्व तहबाटै यस्तो हर्कतहरु भए पनि हामीले उहाँहरुबाट समाज रुपान्तरणको, समृद्धिको, देश विकासको आशा कसरी र किन गर्ने ? अहिले ठूलो अविश्वास पैदा गरेको छ । अब हामीले उहाँलाई कहाँबाट पत्याउने ? हिजोको उहाँहरुको कुरालाई लिएर पत्याउने कि, उहाँहरुको घोषणापत्रहरुलाई पत्याउने कि अहिलेको व्यवहारलाई पत्याउने ? अहिले हामी सबै रणभुल्लमा परेको स्थिति हो ।

कम भड्किला विवाह गर्न नसकिने होइन, गर्न सकिन्छ । तर, नेतृत्व पंक्तिबाटै यसरी विचारमा विचलन आइसकेपछि उहाँहरुले भन्ने ‘जनवादी’ विवाह निरुत्साहित हुँदै जान्छ । आज उहाँहरु आफैं बुर्जुवा भएर गएको प्रमाण हो भड्किला विवाहहरु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर