नेपालीपन हराउँदै गएकोमा चिन्तित बर्मेली हजुरबा – Nepal Press

नेपालीपन हराउँदै गएकोमा चिन्तित बर्मेली हजुरबा

बर्माबाट आँखाको उपचार गर्न ६६ वर्षीय मोतीलाल भट्टराई नेपाल आउनुभयो । नेपालमा पुरानो रीतिथिति हराउँदै गएकोमा उहाँलाई पटक्कै चित्त बुझेन । आँखाको उपचारका लागि उहाँ करिब ८ महिनादेखि नेपालमै हुनुहुन्छ । यसबीचमा उहाँले तीलगंगा आँखा अस्पतालमा एउटा आँखा नै फेर्नुभयो भने अर्को आँखाको मोतियाविन्दुको अप्रेसन गर्नुभयो । यसले आँखामा सुधार भएपछि उहाँ औधी खुशी हुनुहुन्छ । तर, चिन्ता यहाँ नेपालीपनको विशेषता नै हराउँदै गएकोमा छ ।

नाताले उहाँ मेरो मावली हजुरबा हुनुहुन्छ । रुपन्देहीको छपियामा दाजुभाइ भएकाले खास खास समय मिलाएर उहाँ आइरहनुहुन्छ नेपाल । यो वर्षको दसैँमा उहाँसँगको कुराकानीले आफ्नै विगतलाई पनि कोट्याउने कोसिस गरें । वास्तवमा नेपालीहरु विगतमा पनि अवसरका लागि विदेश नै जान्थे, जसरी अहिले युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान आदि देशमा गइरहेका छन् ।

के हो त नेपालीपन ? हजुरबाको विचारमा एकापसमा सहयोगी हुनु नै नेपालीपन हो । तर, आजभोलि नेपालमा सहयोगी मन र भावना दुवै हराउँदै गएछ । कसैलाई केही सोध्दा झर्कने, गाली गर्ने, हेपेर बोल्ने प्रवृत्ति मौलाउँदै गएकोमा उहाँलाई चिन्ता लाग्यो ।

‘बर्मामा असाध्यै सहयोगी भावना छ । हामी अरुलाई सहयोग गर्न पाउँदा नै खुशी हुन्छौं’, आफ्नो अनुभव पोख्दै उहाँ भन्नुहुन्छ, ‘मैले दुई भाइछोरा, एउटी छोरीको बिहे गरें । बिहे पनि सामान्य हैन भव्यपूर्वक नै गरें । तर, मेरो एक रुपैयाँ खर्च भएन । बरु उपहारका वस्तुले कोठा भरिए । टमु (भारत मणिपुरको सीमा क्षेत्र) ठाउँमा करिब ७०० परिवारको संख्यामा नेपाली मूलका बर्मेलीको बसोबास छ । उनीहरुको समाज छ । महिला, युवा, पुरुष सबैको समाज बनेको छ । उनीहरुले जसलाई परे पनि एक-अर्कालाई सहयोग गर्छन् ।’

छोराछोरीको विवाहका दिन मण्डपमा बस्ने, पूजाआजा गर्ने काम परिवारका सदस्यले गर्ने हो । अरु सबै काम समाजले गर्छ । हरेक व्यक्तिले नगद, रकम केही न केही दिन्छन् । छोरीको विवाहमा मात्र हैन, छोराको विवाहमा पनि दिन्छन् । सामान्यतः सबै खर्च यसरी नै उठ्छ ।

कुरा यतिमात्र हैन, हिँड्दा र डुल्दा घरमा पसेर पानी खाने चलन अद्यापि छ । हो, नेपालको ग्रामीण समाज यसरी नै चलेको थियो कुनै वेला । करिब पचासको दशकसम्म यस्तै थियो । जब माओवादी जनयुद्घ शुरु भयो, त्यसपछि स्वेच्छिक सहयोग गर्ने चलन हरायो । जबरजस्त सहयोग त जनयुद्घ कालमा पनि थियो । मानिसदेखि मानिस डराउने अवस्था सृजना भयो । कसैलाई पानी खान दिए पनि आरोप लाग्ने अवस्था आयो । सायद यही नै मूल कारण हो कि त्यसप्रकारको सहयोगात्मक भावनाको अन्त्य पनि भयो । बर्मामा त्यो परम्परा कायमै छ ।

हजुरबा भन्नुहुन्छ, ‘सडकमा कतै गाडी बिग्रेमा देख्नेले बोलाएर खान बस्न अनुरोध गर्ने परम्परा छ । उसले सहज तरिकाले बस्न खान पाउँछ र आवश्यक परे अन्य सहयोग पनि पाउँछ । तर, अहिले नेपालमा कोही दुर्घटनामा परे पनि उठाउने कोही हुँदैनन् जस्तो लाग्यो ।’

यहाँको मन नपर्ने अर्को पक्ष समयप्रतिको बेवास्ता हो । हरेक काममा एकदुई घण्टा तलमाथि हुनु सामान्य भएछ । ‘यसरी कसरी काम सम्पन्न हुन्छ ?’, उहाँको प्रश्न छ ।

नेपाली भाषामा अंग्रेजी मिसाएर बोलेको पनि उहाँलाई पटक्कै चित्त बुझेन । बर्मामा मीठो नेपाली बोल्छन्, नेपाली संस्कार सिक्छन् अर्थात् सिकाइन्छ । हरेक वर्ष तीन महिना नेपाली कक्षा निःशुल्क सिकाउन संस्कृत पाठशाला स्थापना गरिएको छ । तीन महिनामा एक कक्षा उत्तीर्ण गर्ने गरी गरिएको यो व्यवस्थाअनुसार बर्माको १० कक्षा उत्तीर्ण गर्दा नेपाली भाषाको पनि १० कक्षा उत्तीर्ण गर्छन् ।

यहाँको महँगी देखेर पनि उहाँलाई अत्यासै लाग्यो । जता पनि करको बोझ । सरकार र व्यक्तिले पनि खाली पैसाकै कुरा गर्ने र पैसाकै पछाडि दौडिने ? ‘आखिरी के गर्ने हो पैसा ?’, बडो गजबको प्रश्न छ उहाँको । बर्मामा यतिविधि कर लिँदैन सरकारले । १० प्रतिशतमात्र भन्सार लाग्छ । अरु लाग्दैन । जबकि नेपालमा ४० प्रतिशतको हाराहारी तिर्नुपर्छ । यसैले व्यापार व्यवसायमा सहज छ बर्मामा । उहाँका एक जना छोराले चीन र थाइल्याण्डबाट सामान ल्याएर बर्मा र नेपालमा पठाउँछन् । उहाँको अनुभवमा नेपालमा सामान पठाउन असाध्यै दुःख छ । ‘उपभोक्ताले व्यहार्नुपर्ने महँगीको कारण करको बोझ हो’, नेपाल बसाइमा उहाँको बुझाइ यस्तो रह्यो ।

नेपालमा जति कर भारतमा पनि छैन । उनीहरु भारतको सीमा क्षेत्रमै बस्ने भएकाले बर्माबाट जति सामान ल्याए पनि भन्सार तथा अन्य कर नै लाग्दैन । सरकार चलाउन कर लिनु ठीकै होला । ‘तर, नागरिकले व्यहोर्न त सक्नुपर्‍यो नि’ भन्नुहुन्छ उहाँ ।

काम गरेर खान सहज छ बर्मामा । अहिले त करिव ७०-८० हजारभन्दा धेरै बर्मेली नेपाली थाइल्यान्ड गएर कपडा सिलाउने सर्टिङ-सुटिङ व्यवसायमा पकड जमाएर बसेका छन् । हजुरबा पनि सन्तुष्ट हुनुहुन्छ । राजनीतिबाहेक अरु सबै काम गर्न र सुखसँग जीविका चलाउन कुनै दुःख छैन बर्मेली नागरिकलाई ।

शुरूमा पशुपालन र कृषि गर्न नेपालीहरू बर्मा पुगेका थिए । अहिले पनि कृषि र पशुपालनमा ठूलो संख्या रहेको छ । कृषिकर्मबाट पनि मनग्गे फाइदा हुँदोरहेछ । पर्याप्त जमिन हुनुले थोरै लगानीबाट जग्गाको व्यवस्थापन हुनसक्ने र सरकारले लिजमा पनि दिने भएकाले कृषिबाट लाभ लिनसक्ने अवस्था सृजना भएको हो ।

बर्मामा विदेशी मूलका नागरिकमध्ये सबैभन्दा धेरै चिनियाँ छन् । नेपाली मूलका नागरिक पनि करिब ३ लाख छन् । अधिकांश नेपालीहरू अहिले याङ्गोन (रङ्गुन), म्यानडले, हालको राजधानी नेपिताउ र मुसे जो चीनको सीमा क्षेत्र पर्छन्, नाउछो, लास्यो, चाउमे, मिचिना, मोगेव, नाम्ती, मोगाउ र देशका अन्य भागमा बस्छन् ।

मोगेवलाई दोस्रो नेपाल भन्दा रहेछन् । यो रुवी (पत्थर) पाइने ठाउँ हो । बर्माको मूल स्रोत हिरा, रुवी, सुन, पेट्रोलियम पदार्थ हो । मिचिनाको फाकान हरियो रुवीका लागि, माइसु रातो रुवीका लागि विशेष मानिँदो रहेछन् । हुम्लिङ नदीबाट सुन निकाल्ने रहेछन् । कैयौं नेपाली मूलका बर्मेलीहरु रुवीबाट प्रशस्त धनी बनेका पनि छन् । भारतीयसँग हिन्दीमा कुरा गर्न सक्ने भएकाले नेपालीलाई यो व्यापार गर्न सहज भएछ । जब कि बर्मेलीहरुलाई आफ्नो भाषाभन्दा अरु आउने रहेनछ ।

जीवा लामिछानेले आफ्नो पुस्तक सर्सती संसारमा पनि पत्थरको खेलो गरेर धेरै नेपालीको जीवनस्तर माथि पुगेको उल्लेख गरेका छन् । तथापि यो व्यवसायमा फाइदाका साथै जोखिम पनि छ । जमिन किनेर पत्थर उत्खनन गर्ने हो । कैयौं वर्षसम्म पनि पत्थर फेला नपर्न सक्छ ।

रुवी एक प्रकारको चम्किलो पत्थर हो । यसलाई रत्नराज अर्थात् गहनाहरूको पनि राजा भनिन्छ । रुवीका लागि म्यानमारको मोगोक विश्वमै प्रसिद्ध छ । रातो रुवी प्रेमको प्रतीक मानिन्छ । हिरा झैं महँगोमा बिक्री हुने रुवीको एउटै टुक्रा ३० करोड रुपैयाँसम्म पर्दोरहेछ । कैयौं नेपाली मूलका बर्मेलीहरु यसको व्यापार गरेर धनी बनेका छन् ।

ऐतिहासिक पक्षलाई हेर्दा बेलायती शासनको बेलामा अधिकांश गोर्खा नेपालबाट बर्मामा जागिरको खोजीमा जाने गर्थे । बर्मा गए पनि कर्म सँगै भन्ने उखान त्यसै बनेको हैन । सन् १९४८ मा बर्माको स्वतन्त्रतापछि नेपाली/गोर्खाहरु बर्मा सेनामा भर्ती भएका थिए । सन् १९५० को दशकमा त गोर्खालीलाई बर्मेली सेनाको प्रमुख सम्पत्ति मानिन्थ्यो ।

हाम्रो परिवारमा पनि बर्माको इतिहास जोडिएको छ । हाम्रा चार जना हजुरबा गंगाराम, तुल्सीराम, नरपति र यमलाल सबै जना बर्मा जानुभएको थियो । मेरो साइला हजुरबाको छोरा पुनाराम बाकाअनुसार कान्छा यमलालको करिब ८० वर्षअघि चिन्दीवासिन्धी नदीमा खसेर मृत्यु भएको थियो । त्यतिवेला नदीमा पुल थिएन सायद । डोरी वा त्यस्तै माध्यमबाट आउजाउ गर्नुपर्थ्यो क्यारे !

मेरो बुवा डाँसुराम पनि जापानसँगको लडाइँमा सहभागी हुनुहुन्थ्यो । पछि लखेटाइमा पर्नुभयो र भारतमा केही समय जागिर खानुभयो । बुवामात्र हैन, मेरो गाउँका धेरै व्यक्ति बर्माको सो युद्घमा सहभागी हुनुहुन्थ्यो । सन् १९४८ मा अंग्रेज उपनिवेश शासनबाट बर्माले स्वतन्त्रता प्राप्त गरेकाले सायद यो त्यसभन्दा अघिको सन्दर्भ हुनसक्छ ।

बुवा पुनारामका अनुसार पाणिनि- ५ साविक मैदानका ओखरवोटे तुल्सीरामका बुवा सबैभन्दा पछि नेपाल आएका थिए । उहाँहरुसहित देवीप्रसाद घिमिरे, चन्द्रबहादुर क्षेत्री, रानीवासे राइला, लाटो दमाई, लुरे दमाई, झन्द्रेक च्याप्टे दमाई (त्यतिवेला दमाई भनेर चिन्ने गरिएकाले र अन्य नाम थाहा नभएकाले मैले यसरी नै चिनाउन खोजेको हुँ) का साथै मौरीथुम, मनन्थुम, भलायडाँडा, आँपेवारीलगायतका क्षेत्रबाट कैयौं व्यक्ति बर्मा गएका थिए । त्यतिवेला धन कमाउन जाने भनेकै बर्मा हुन्थ्यो । भारतमा त पछि मात्र जान थालेका थिए ।

बर्मा र नेपालको साइनोको कुरा गर्दा मेरो गाउँको सम्बन्ध पनि कम्ता पुरानो रहेनछ । तर, यो इतिहास कसैले लेखेन । यहाँसम्म कि म आफैंले पनि बुवाबाट लिनुपर्ने धेरै सूचना लिन सकिनँ ।

सायद जर्नेल नेविनले सन् १९६२ मा सत्ता हत्याएर जातीय दङ्गा नगरेको भए हजुरबा उतै रहनुहुन्थ्यो कि ? सोही दङ्गाका कारण फिर्ता भएका धेरै नेपाली रुपन्देहीको छपिया, भैरहवा बर्मेली टोल र नवलपरासीलगायतका ठाउँमा आएर बस्ती बसेका थिए ।

सन् १९६२ देखि फर्कन थालेका नेपाली कहिलेदेखि गए त ? इतिहास कोट्याउँदा भेटिने तथ्य के हो भने अङ्ग्रेजले शासन लिएपछि नेपाली भाषीहरूलाई अङ्ग्रेजले नै लगेको हो । सन् १८८५ मा त्यहाँको राजालाई नियन्त्रणमा लिएर इस्ट इन्डिया कम्पनीले बर्मा कब्जा गरेको थियो । तत्पश्चात् बर्मेली सेनाले विद्रोह गरेर शासन सत्ता फिर्ता लग्ला भनेर त्यो दबाउन नेपालीहरूलाई त्यहाँ लगिएको थियो । त्यसरी जानेहरूले बर्मामा खेतीयोग्य उर्बर जमिन छ भनेर आफ्ना टोल, समुदायलाई पनि बोलाएर उनीहरूलाई रेलको लिग खन्ने, सुन खानी र अन्य खानीमा काममा लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *