क्रिकेट खेलाडीलाई नगद वर्षा गर्दै अर्ना– आजैको म्याचमा ६ लाख ६४ हजार ‘विल’ उठ्यो – Nepal Press

क्रिकेट खेलाडीलाई नगद वर्षा गर्दै अर्ना– आजैको म्याचमा ६ लाख ६४ हजार ‘विल’ उठ्यो

एक बल मात्र फेस गर्दा कुशल मल्ललाई २६ हजार, ब्याटिङ र बलिङ गर्न नपाएका विवेक र सन्दीप खाली हात

काठमाडौं । अर्ना वियरले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कारको वर्षा गरिरहेको छ । घरेलु मैदानमा जारी टि–२० विश्वकप छनोट प्रतियोगितामा खेलाडीहरु मालामाल हुने भएका छन् ।

अर्नाले प्रत्येक रनका लागि एक हजार र प्रत्येक विकेटका लागि २५ हजार दिने घोषणा गरेको थियो । यसैगरि, एउटा छक्कालाई २० हजार र एउटा चौका वापत १० हजार दिने भनिएको छ । बलरले प्रत्येक डट बलमा एक हजार र मेडन ओभरमा १० हजार पाउनेछन् ।

यस बमोजिम आज भएको सिंगापुर विरुद्धको म्याचमा मात्रै अर्ना वियरले ६ लाख ६४ हजार रकम खर्चिनुपर्ने भएको छ । ओपनर कुशल भुर्तेल एक्लैले एक लाख ९४ हजार पाउनेछन् । उनले म्याचमा ७४ रन बनाएका थिए भने २ छक्का र ८ चौका प्रहार गरेका थिए ।

दोस्रो ठूलो रकम हात पारेका छन् कप्तान रोहितकुमार पौडेलले । २ छक्का र दुई चौकासहित ३५ रन बनाएका रोहितले ९५ हजार रुपैयाँ पाउनेछन् ।

फास्ट बलर अविनाश बोहरा पनि मालामाल हुनेछन् । ५ डट बल, ३ विकेट र एक मेडन राखेवापत उनलाई ९० हजार रुपैयाँ मिल्ने छ ।
गुल्शन झा र सन्दीप लामिछानेको भागमा ६०–६० हजार परेको छ । उनीहरु दुवैले २–२ विकेट लिएका थिए भने १०–१० डट बल राखेका थिए । दुई विकेट र ९ डट बल राखेका करण केसीले ५९ हजार पाउनेछन् । यस्तै, सोमपाल कामीले १३ डट बल राखेवापत १३ हजार रुपैयाँ नै हात पार्ने भएका छन् ।

आजको म्याचमा बलिङ गर्न नपाएका र एक बल मात्रै ब्याटिङ गर्न पाएका कुशल मल्लले पनि २६ हजार रुपैयाँ पाउने छन् । आफूले फेस गरेको एक मात्र बललाई उनले छक्का हान्दै सो रकम निश्चित गरेका हुन् ।

टिममा परेर पनि बलिङ र ब्याटिङ दुवै गर्न नपाएका विवेक यादव र सन्दीप जोरा भने खाली हात हुने भएका छन् । समर्थहरुले सबै खेलाडीबाट अलिअलि रकम उनीहरुका लागि पनि भाग लगाउन आग्रह गरिरहेका छन् ।

त्यसो त चोटका कारण खेल्न नपाएका दीपेन्द्रसिंह ऐरी र प्लेइङ ११ मा नपरेका ललित राजवंशी, विनोद भण्डारी, प्रतिश जिसी पनि खाली हात नै हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर