त्रिवि मैदानमा चम्किने बानी परेका कुशल – Nepal Press

त्रिवि मैदानमा चम्किने बानी परेका कुशल

काठमाडौं । दुई वर्षअघि कोरोना महामारीबीच नेपालले नेदरल्यान्ड्स र मलेसियालाई त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्न घरमा बोलाएको थियो ।

कुशल भुर्तेल र आसिफ शेख टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै थिए । संयोग नै मान्नुपर्छ, यी दुवै ब्याट्सम्यानलाई ओपनिङ गर्ने जिम्मेवारी दिइएको थियो ।

भारतमा अहिले भइरहेको एक दिवसीय विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गरेको नेदरल्यान्ड्स त्यतिबेला पनि सशक्त थियो ।

नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँगै थियो । पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १३६ रनमा सीमित गर्‍यो । लक्ष्य पछ्याउन क्रिजमा आएका कुशल र आसिफ खह्रो उत्रिए । उनीहरुले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । कुशलले ६२ रन जोडेका थिए भने आसिफ ५४ रनमा अविजित रहे ।

त्यसपछिका लगातार दुई खेलमा पनि कुशलले अर्धशतक बनाए र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए । त्यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानले डेब्युदेखि लगातार तीन खेलमा अर्धशतक बनाउन सकेका थिएनन् ।

त्यस श्रृंखला नेपालले जितेन मात्र, फाइनलसहित अन्तिम तीन खेलमा २ सयभन्दा बढी रन जोडेको थियो । नेदरल्यान्ड्सविरुद्ध भएको फाइनलमा कुशलले ७७ रन जोडेपछि नेपालले २३९ रनको विशाल लक्ष्य दिएको थियो ।

यही श्रृंखलाबाट हो, नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूला पालीहरु खेल्न थालेको । त्यसको मेरुदण्डका रुपमा थिए कुशल र आसिफ । त्यसयता कुशल र आसिफ प्रायः ओपनिङ ब्याटिङमा छुट्टिएका छैनन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल जतिपटक कीर्तिपुर मैदानमा उत्रिन्छन्, प्रायः निराश बनाउँदैनन् । उल्लेखनीय के छ भने उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएका ७ अर्धशतकमध्ये ६ वटा कीर्तिपुर मैदानमै बनेका हुन् । उनी यहाँ एक पटकमात्र दोहोरो अंकमा रन जोड्न चुकेका छन् ।

सन् २०२२ को मार्चमा उनी मलेसियाविरुद्ध एक रनमा आउट भएका थिए । हालै भएको हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक श्रृंखलाको फाइनलमा उनले ५० रन जोडेका थिए । लगत्तै कीर्तिपुर मैदानमा भएको अर्को खेलमा सोमबार नेपालले सिंगापुरलाई ८ विकेटले हराएर विश्वकप छनोटमा शानदार सुरुवात गर्दा कुशलले ७४ रन जोडे । उनले २ छक्का र ८ चौका प्रहार गरेका थिए ।

कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म २५ खेल खेल्दै एक शतक र ७ अर्धशतकसहित ८०४ रन जोडेका छन्, जसमा उनले २८ छक्का र ८५ चौका प्रहार गरेका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल नेपालका लागि तेस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । सन्न्याश लिइसकेका ज्ञानेन्द्र मल्लले ४५ खेलमा ८८३ र दीपेन्द्रसिंह ऐरीले ५२ खेलमा एक हजार ३४४ रन जोडेका छन् ।

एक दिवसीय क्रिकेटमा भने टी-२० मा जसरी उनी कीर्तिपुरमा जमेको देखिँदैन । यस मैदानमा उनले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलका रुपमा सन् २०२२ को मार्चमा पीएनजीविरुद्ध उत्रँदै ३२ रन जोडेका थिए । लगत्तै अर्को खेलमा उनी खाता नखोली आउट भएका थिए ।

गत फेब्रुअरीमा उनले नामिबियाविरुद्ध खेल्दै पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका थिए, कीर्तिपुर मैदानमै । कुशलले कीर्तिपुर मैदानमा खेलेका एक दिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये एक पटक शतक र एक पटक अर्धशतक बनाएका छन् । दुई पटक शून्यमा आउट भएका छन् भने अन्य ५ अवसरमा दोहोरो अंक छुन असफल भएका छन् ।

कुशलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ४६ खेलमा एक शतक र ६ अर्धशतकसहित एक हजार ३२ रन जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर