राष्ट्रसंघ महासचिवलाई द्वन्द्व पीडितको संयुक्त पत्र- सरकारले भेट्न दिएन, हामीलाई भेटेर पीडा सुनिदिनुस् – Nepal Press

राष्ट्रसंघ महासचिवलाई द्वन्द्व पीडितको संयुक्त पत्र- सरकारले भेट्न दिएन, हामीलाई भेटेर पीडा सुनिदिनुस्

काठमाडौं । सशस्त्र द्वन्द्व पीडितका पाँचवटा संघ/संगठनले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटका लागि समय माग गरेका छन् ।

चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयलाई एजेण्डा बनाएकोमा खुशी व्यक्त गर्दै उनीहरुले वास्तविक पीडित आफूहरुसँग भेटेर पीडा सुनिदिन महासचिव गुटेरेसलाई आग्रह गरेका हुन् ।

बेपत्ता परिवार समाजका अध्यक्ष रुपेश शाह, द्वन्द्व पीडित असाहय राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र केसी, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष सृजना सिंह, द्वन्द्व पीडित राष्ट्रिय संघका अध्यक्ष गोपाल शाह र द्वन्द्व पीडित साझा मञ्चका कार्यवाहक अध्यक्ष कल्याण बुढाथोकीले आज महासचिव गुटेरेसलाई आफूहरुसँग भेट गर्न संयुक्त रुपमा आग्रह गरेका हुन् ।

महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय मानवता, नेपालको न्यायालय र पीडितहरुको हितका आधारमा टुंग्याउनुपर्ने विषयमा सार्वजनिक चासो राखेकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् ।

तर महासचिवको भ्रमणमा आफूहरु प्राथमिकतामा नपरेकोमा उनीहरुले दुःख पोखेका छन् । ‘नेपालको दशक लामो द्वन्द्वका हामी पीडितहरु यहाँको भ्रमणको प्राथमिकतामा नपर्नुले हामीलाई दुःख लागेको छ’, महासचिव गुटेरेसलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ ।

उनीहरुले गुटेरेस जानुअघि आफूहरुसँग भेटिदिन आग्रह गरेका छन् । ‘नोभेम्बर १ सम्म यहाँको प्रस्थान समय अगाडि प्रतिनिधिमुलक रुपमा हामी पीडितहरुसँग भेटेर हामी हाम्रो सामूहिक पीडा, संक्रमणकालीन न्याय प्रक्रियाका अनुभूति, त्यसका लागि आफ्ना सुझावहरु बाँड्न चाहन्छौं’, उनीहरुले महासचिवलाई आग्रह गरेका छन् ।

उनीहरुले नेपालमा संक्रमणकालीन न्यायको विषय टुंग्याउन तत्कालै ऐन बनाइ सबैलाई न्याय हुने प्रक्रिया अवलम्बन गर्नुपर्ने विषय पनि उठाएका छन् ।

‘जबकी हाम्रो आफ्नै सरकार समेत तपाईंसँग भेट गराउन उत्सुक छैन, हामी आशा गर्छौं कि हामी पीडितहरुसँग भेटका लागि गरिएको यो अनुरोधलाई यहाँले सकारात्मक ढंगले लिनुहुनेछ’, पत्रमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर