राष्ट्र संघका महासचिव गुटेरेस पोखरा आउँदै, भोलि अन्नपूर्ण बेस क्याम्प जाने – Nepal Press

राष्ट्र संघका महासचिव गुटेरेस पोखरा आउँदै, भोलि अन्नपूर्ण बेस क्याम्प जाने

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आउँदै छन् । महासचिव गुटेरेस नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा आउन लागेका हुन् ।

गुटेरेस काठमाडौंबाट दिउँसो १ः२० पोखरा प्रस्थान गर्नेछन् । उनी १ः५० मा पोखराको पुरानो विमानस्थलमा अवतरण गर्नेछन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ ।

गुटेरेसलाई स्वागत गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुग्नेछ ।

त्यसपछि उनी सिधै होटेलतर्फ प्रस्थान गर्नेछन् । महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । महासचिव गुटेरेस फेवाताल किनारको एक लजमा सोमबार राति बस्ने तय छ ।

त्यसपछि उनी मंगलबार मात्रै अन्नपूर्ण आधार शिविर(एबिसी) का लागी निस्कने छन् । उनी मंगलबार बिहान ६ः३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । अन्नपूर्ण आधार शिविरमा शुक्रबार नै नेपाली सेनाको टोली पुगिसकेको छ । बेसक्याम्पमा उडानलाई सहज बनाउन दुई हेलिप्याड निर्माण गरिएको छ ।

महासचिव गुटेरेसले आधार शिविरमा जलवायु परिवर्तनका कारण सर्वसाधारणको जनजीवनमा परेका असरबारे स्थानीयसंग छ्लफल गर्ने कार्यक्रम छ ।

आधार शिविरबाट उनी ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । विमानस्थलमा पोखराका पत्रकारहरूसँग कुरा गर्ने र मंगलबार बिहान ८ः१५ मा पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।
सन् २०१७ मा संयुक्त राष्ट्र संघको महासचिव भएपछि उनी पहिलो पटक नेपालको भ्रमणमा आएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर