प्रधामन्त्रीसहित गुटेरेसले लुम्बिनी भ्रमण गर्ने, यस्तो छ तयारी – Nepal Press

प्रधामन्त्रीसहित गुटेरेसले लुम्बिनी भ्रमण गर्ने, यस्तो छ तयारी

रूपन्देही । संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनीमा हुने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने भएका छन् । अहिले लुम्बिनी क्षेत्र सिंगारिएको छ । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा आइतबार विहान नेपाल आएका गुटरेस मंगलबार विहान लुम्बिनी आउने भएका हुन ।

लुम्बिनी विकास कोषले महासचिव गुटरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र पारेको छ । आइतबार कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आवश्यक सुरक्षा प्रबन्धबारे छलफल गरेको छ ।

बैठकमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित, नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीसहित कोषका पदाधिकारीको उपस्थिति थियो ।

महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उपाध्यक्ष लामाले बताए ।

‘महासचिव आउनु नै हाम्रो लागि गौरवको बिषय हो, गुटरेसको भ्रमणले विश्वव्यापी रुपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’, उनले भने । महासचिवलाई बुद्धजन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा. लामाले बताए । लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै यो भ्रमणले लुम्बिनीको विकास र सम्बद्र्धनमा थप टेवा पुग्ने विश्वास गरेको उपाध्यक्ष लामाको भनाइ छ ।

‘प्रधानमन्त्री ज्यूको निमन्त्रणामा नेपाल आउनुभएका महासचिवको लुम्बिनी भ्रमण हाम्रा लागि मात्रै नभई नेपालकै लागि गौरव हो, उहाँले यहाँबाट विश्व शान्तिका लागि सन्देश पनि दिनुहुनेछ’, उपाध्यक्ष डा. लामाले भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत बिशेष अनुरोध गरेकाले महासचिव गुटरेससँगै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको जानकारी दिए ।

गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुद हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । उनले नेपालले ऊ थान्तको समयमा संयुक्त राष्ट्र संंघको पहलमा शुरु भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुनस्मरण गराइने बताए ।

बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति शहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए ।

कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मंगलबार (१४ गते) महासचिव गुटरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए ।


उनका अनुसार महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सरकारी उच्चस्तरी अधिकारीहरुले स्वागत गर्नेछन् ।

महासचिव गुटरेस मंगलबार बिहान ८ : ३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८ : ५० बजे लुम्बिनीमा आइपुग्नेछन् । गुटरेसलाई हेलिप्याडबाट गाडीबाट चारनम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ ।

कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणी सहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्मस्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीमा डेढ घन्टा बिताएपछि १०:३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।

नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । महासचिवको भ्रमणलाई लिएर कोषले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको योजना प्रमुुख सरोज भट्टराईले बताए । उनले सरसफाई, स्वागत सत्कार र अन्य आवश्यक कामहरु तयारी अवस्थामा रहेको बताए ।

कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । उनले भ्रमण लुम्बिनीका लागि अवसर र गौरव भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । यसअघि कोषले स्थानीय नगरपालिकासहित सरोकारवालाहरुसँग तयारी बैठक गरेर भ्रमणलाई ऐतिहासिक बनाउनेबारे छलफल गरेको थियो ।

संयुक्त राष्ट्र संघका महासचिवको रुपमा गुटेरेसको लुम्बिनी भ्रमण छैटौं हो । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन ।

तर, पनि उनीसहित गुटेरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाईला टेक्नेछन । सन् १९६७ मा ऊ थान्त, सन् १९८१ मा कर्ट वाल्डहिमले सन् १९८१, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ मा लुम्बिनीको भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर