महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता – Nepal Press

महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

देउवाले भने- संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिट्टै पारित गर्छौं

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न उनीहरुबीच शिष्टाचार भेट भएको हो । सो अवसरमा उनीहरुबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी थिए ।

महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गराउने बताएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले बताए ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौँबाट प्रस्थान गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर