विश्वकप क्वालिफायरपूर्व प्रशिक्षक र कप्तानको एक स्वर- टीममाथि भरोसा छ, तर विपक्षीलाई कमजोर आँक्दैनौं (भिडिओ) – Nepal Press

विश्वकप क्वालिफायरपूर्व प्रशिक्षक र कप्तानको एक स्वर- टीममाथि भरोसा छ, तर विपक्षीलाई कमजोर आँक्दैनौं (भिडिओ)

क्वालिफायरमा नेपाली टीमको मन्त्र- वान गेम एट अ टाइम

काठमाडौं । भोलिबाट सुरू हुने टी-२० विश्वकप क्वालिफायरअघि नेपाली राष्ट्रिय क्रिकेट टीम उत्साहित र आत्मविश्वासी देखिएको छ । प्रतियोगितापूर्व पत्रकारसँगको अन्तरक्रियामा नेपाली टीमका कप्तान र प्रशिक्षकले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगितामा नेपालका लागि ठूलो अवसर भएको बताए ।

प्रशिक्षक मोन्टी देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’
देसाईले ‘एकपटकमा एउटा खेल’ को रणनीति लिएर अघि बढ्ने बताए ।

‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ,’ उनले भने ।

देसाईले टी-२० मा एक-दुई खेलाडीको प्रदर्शनले पनि नतिजा फरक पर्न सक्ने भएकाले त्यही अनुसार खेलाडीको ‘टेम्परमेन्ट’ मा पनि काम गरेको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ ।

कप्तान रोहित पौडेलले विगत ६-७ महिनादेखि नेपाली टीमले राम्रो खेलिरहेको तर, त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको बताए ।

उनले भने, ‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो । दिप्पीदाइ र मेरो विकेट महत्वपूर्ण थियो ।’

सोमपाल कामीले फास्ट बलरलाई राम्रो खेल्न सक्ने भनेर ३ नम्बरमा खेलाइएको उनले प्रष्ट पारे । आगामी म्याचमा कन्डिसनलाई हेरेर कसलाई कुन ब्याटिङ क्रममा खेलाउने भन्ने निर्णय लिइने उनको भनाइ छ ।

‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ,’ उनले भने ।

सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने प्रशिक्षक र कप्तान दुवैको भनाइ थियो ।

देसाईले भने, ‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ ।’

कप्तान पौडेलले पनि सन्दीप आएपछि टीममा ब्यालेन्स भएको बताए ।

‘उहाँ अनुभवी र राम्रो बलर हुनुहुन्छ । उहाँको उपस्थिति महत्वपूर्ण छ,’ पौडेलले भने । कन्डिसन हेरेर सन्दीपलाई कसको स्थानमा खेलाउने भन्ने निर्णय हुने उनको भनाइ छ ।

कप्तान पौडेलले कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर